Below Menu
Below Menu

नेपाल एयरलाइन्सले भाेलि काठमाडौं-दुबई उडान गर्दै, रोकिएका यात्रुले टिकट पुन: प्रमाणीकरण गर्नुपर्ने

नेपाल एयरलाइन्सले भाेलि काठमाडौं-दुबई उडान गर्दै, रोकिएका यात्रुले टिकट पुन: प्रमाणीकरण गर्नुपर्ने

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौँ-दुबई-काठमाडौँ विशेष उडान सञ्चालन गर्ने भएको छ। निगमले मंगलबार एक सूचना जारी गर्दै यात्रुहरूको सहज यात्रालाई ध्यानमा राख्दै विशेष उडान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।

निगमका अनुसार काठमाडौँबाट दुबईका लागि विशेष उडान ११ मार्च २०२६ का दिन स्थानीय समय अनुसार राति ११:१५ बजे प्रस्थान गर्नेछ। त्यस्तै दुबईबाट काठमाडौँ फर्कने उडान १२ मार्च २०२६ का दिन स्थानीय समय अनुसार बिहान ४स्१० बजे प्रस्थान गर्ने तालिका तय गरिएको छ। यी दुवै उडानहरू निगमको नियमित उडान समय तालिका अनुसार नै सञ्चालन हुने बताइएको छ।

निगमले २८ फेब्रुअरीदेखि ९ मार्च २०२६ सम्मका बीचमा टिकट लिएर पनि विभिन्न कारणले यात्रा गर्न नसकेका यात्रुहरूलाई विशेष व्यवस्था गरेको जनाएको छ। त्यस्ता यात्रुहरूले ११ मार्च २०२६ को विशेष उडानमार्फत यात्रा गर्न चाहेको अवस्थामा आफ्नो टिकट निगमले उपलब्ध गराएको आधिकारिक इमेल ठेगानामा पठाएर पुनः प्रमाणीकरण गराउनुपर्नेछ। टिकट प्रमाणीकरण भएपछि मात्र यात्रुहरूले प्रमाणित टिकटको आधारमा यात्रा गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

निगमले टिकट पुनः प्रमाणीकरण नगरिएका यात्रुहरूलाई विमानस्थल नजान अनुरोध गरेको छ। निगमबाट टिकट प्रमाणीकरण गरिएका यात्रुहरूलाई मात्र विमानस्थलमा प्रवेश गरी यात्रा गर्न अनुमति दिइनेछ। साथै जहाजमा उपलब्ध सिटको आधारमा पहिलेदेखि यात्रा गर्न नपाई रोकिएका यात्रुहरूलाई ‘पहिले आउनेलाई पहिले सेवा’ को आधारमा टिकट उपलब्ध गराइने निगमले सूचनामा उल्लेख गरेको छ।

नेपालबाट दुबई यात्रा गर्न चाहने यात्रुहरूले टिकट प्रमाणीकरणका लागि निगमले उपलब्ध गराएको इमेल ठेगानामा सम्पर्क गर्नुपर्नेछ। त्यसैगरी दुबईबाट नेपाल फर्कन चाहने यात्रुहरूले पनि आफ्ना टिकटहरू सम्बन्धित इमेलमा पठाई प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरिएको छ।

निगमले सम्पूर्ण यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि निगमको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत प्रकाशित हुने सूचनाहरू नियमित रूपमा अवलोकन गर्न आग्रह गरेको छ । 

यसैबीच मध्यपूर्व क्षेत्रमा देखिएको असहज परिस्थिति र सुरक्षा संवेदनशीलताका कारण कुनै पनि समयमा उडान स्थगित वा रद्द हुन सक्ने सम्भावना रहेको पनि निगमले जनाएको छ। यस्तो अवस्थामा यात्रा अवरुद्ध भएमा निगमले थप आर्थिक वा अन्य उत्तरदायित्व वहन गर्न नसक्ने स्पष्ट पारिएको छ।

यस परिस्थितिका कारण यात्रुहरूलाई परेको असुविधाप्रति निगमले क्षमायाचना गर्दै आवश्यक जानकारी लिएर मात्र यात्रा व्यवस्थापन गर्न सबै यात्रुहरूलाई अनुरोध गरेको छ।

Advertisment

थप समाचार