काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी दायर गरिएको रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतको उक्त निर्णयसँगै नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम सम्पन्न गर्ने बाटो खुला भएको छ।
निर्वाचन प्रक्रियासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा नाडाले न्यायालयप्रतिको सम्मान र विधिको शासनप्रतिको आफ्नो प्रतिबद्धतालाई ध्यानमा राख्दै नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो।
बुधबार पाटन उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै सो विषयसँग सम्बन्धित कानुनी अवरोध समाप्त भएको नाडाले जनाएको छ।
यससँगै नाडाले आफ्नो विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम निकट भविष्यमा सम्पन्न गर्ने तयारी अघि बढाउने जानकारी दिएको छ।
अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै नाडाले उक्त निर्णयले सम्बन्धित विषयमा स्पष्टता ल्याएको र संस्थालाई आगामी दिनमा थप स्थिरता तथा एकताका साथ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
नाडाले सम्पूर्ण सदस्य, सरोकारवाला निकाय तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद तथा उद्योगमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि दोहोर्याएको छ।
नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका थिए । आगामी पुस २५ गतेका लागि तय गरिएको निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा उप्रेतीको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएका हुन्।
निर्वाचन समितिका अनुसार पुस १७ गते बिहीबार मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने अन्तिम समय तोकिएको थियो। उक्त समयसीमाभित्र अन्य कसैको पनि दाबी नपरेपछि वर्तमान कार्यसमितिका महासचिवसमेत रहेका उप्रेती आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
Advertisment