काठमाडौं : रेटिङ एजेन्सी इक्रा नेपालले विराटनगरस्थित नोबेल क्यान्सर हस्पिटल प्रालि (एनसीएचपीएल) लाई यसअघि प्रदान गरिएको कर्जा रेटिङ औपचारिक रूपमा फिर्ता लिएको छ।
कम्पनीले रेटिङ निगरानी प्रक्रियामा आवश्यक जानकारी उपलब्ध नगराएपछि नियामकीय व्यवस्था अनुसार रेटिङ फिर्ता गरिएको इक्रा नेपालले जनाएको हो।
इक्रा नेपालका अनुसार अस्पताललाई दिइएको दीर्घकालीन कर्जा सीमा एक अर्ब ४७ करोड ७३ लाख रुपैयाँ तथा छोटो अवधिको कर्जा सीमा २ करोड रुपैयाँ सम्बन्धी रेटिङ फिर्ता गरिएको हो। यसअघि दीर्घकालीन कर्जामा एलबी माइनस र छोटो अवधिको कर्जामा एफोर रेटिङ प्रदान गरिएको थियो।
‘कम्पनीले रेटिङ निगरानीका लागि आवश्यक वित्तीय तथा सञ्चालनसम्बन्धी विवरण उपलब्ध गराउन पटक–पटक अनुरोध गर्दा पनि व्यवस्थापनबाट सहयोग प्राप्त हुन सकेन। सोही कारण क्रेडिट रेटिङ नियमावली २०६८ तथा इक्रा नेपालको रेटिङ फिर्ता/निलम्बन नीति अनुसार रेटिङ फिर्ता गर्ने निर्णय गरिएको हो’, प्रतिवेदनमा भनिएको छ ।
इक्रा नेपालले रेटिङ फिर्ता गर्नुअघि करिब छ महिनासम्म “वीथड्रअल नोटिस” मा राखेर कम्पनीसँग आवश्यक सूचना मागेको थियो। तर उक्त अवधिमा समेत कम्पनीबाट कुनै सहयोग प्राप्त नभएपछि अन्ततः रेटिङ हटाइएको जनाइएको छ।
रेटिङ एजेन्सीले उपलब्ध जानकारीका आधारमा पछिल्लो समीक्षा भएयता कम्पनीको क्रेडिट जोखिममा परिवर्तन भएको भन्ने संकेत भने नदेखिएको पनि उल्लेख गरेको छ।
नोबेल क्यान्सर हस्पिटल सन् २०२० जुनमा स्थापना गरिएको कम्पनी हो। यसले पूर्वी नेपालका बिरामीलाई लक्षित गरी विशेषीकृत क्यान्सर उपचार सेवा प्रदान गर्ने उद्देश्यले विराटनगरमा अस्पताल निर्माण गरेको थियो। अस्पतालको सञ्चालन भने सन् २०२४ सेप्टेम्बरको मध्यतिरबाट सुरु भएको हो।
यो अस्पताल नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रालिको प्रवर्द्धनमा स्थापना गरिएको हो। अस्पताल उक्त मेडिकल कलेजकै छेउमा निर्माण गरिएको छ र क्यान्सर उपचारका लागि विशेष सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
Advertisment