काठमाडौं : नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको वित्तीय अवस्था अझै दबाबमा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले करिब ४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। सञ्चालन आम्दानी क्रमशः बढ्दै गए पनि कम्पनी अझै स्थिर नाफामा पुग्न सकेको छैन।
रेटिङ एजेन्सीको रिपोर्टअनुसार कम्पनीको व्यापार पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको देखिन्छ। सन् २०२३ मा कम्पनीको कुल व्यापार करिब ३० लाख रुपैयाँ मात्र थियो भने सन् २०२४ मा बढेर करिब १ करोड ५० लाख रुपैयाँ पुगेको थियो।
त्यसपछि सन् २०२५ मा कम्पनीको कारोबार उल्लेखनीय रूपमा बढ्दै ३१ करोड ५० लाख रुपैयाँ पुगेको देखिन्छ। व्यापार बढे पनि कम्पनीको नाफा सूचक भने अझै सकारात्मक बन्न सकेको छैन।
सन् २०२४ र २०२५ दुवै वर्षमा कम्पनी सञ्चालन घाटामा रहेको थियो। यद्यपि चालु वर्षको पहिलो छ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन करिब २९.६५ प्रतिशत पुगेको छ । तर कम्पनीको ऋणसम्बन्धी दायित्व वहन गर्ने क्षमता भने अझै कमजोर रहेको उल्लेख छ ।
रेटिङ एजेन्सीका अनुसार सन् २०२६ मा कम्पनीको ब्याज कभरेज अनुपात ०.७० गुणा मात्र रहेको छ भने समग्र गियरिङ अनुपात करिब १.६१ गुणा रहेको छ । जसले कम्पनीमा ऋणको हिस्सा अझै उल्लेखनीय रहेको देखिएको छ ।
यसैबीच, इन्फोरिमेक्स क्रेडिट रेटिङले कम्पनीको इस्युयर क्रेडिट रेटिङ सुधार गर्दै ‘बी’ मा अपग्रेड गरेको छ। यसअघि कम्पनीको रेटिङ ‘डी’ रहेको थियो र कम्पनी ‘इश्युअर नट को–अपरेटिङ’ श्रेणीमा पनि परेको थियो।
रेटिङ एजेन्सीले कम्पनीले प्रयोग गरिरहेको एक अर्ब १५ करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधालाई ‘बी’ रेटिङ प्रदान गरेको छ भने १५ करोड रुपैयाँ बराबरको छोटो अवधिको बैंक सुविधालाई ‘ए४’ रेटिङ दिएको छ।
एजेन्सीका अनुसार कम्पनीको रेटिङ सुधार हुनुको मुख्य कारण पछिल्लो समय देखिएको ऋण भुक्तानीको सन्तोषजनक रेकर्ड हो। साथै कम्पनीका प्रवर्द्धक, सञ्चालक समिति र व्यवस्थापन टोलीलाई कृषि वस्तु (एग्रो–कमोडिटी) क्षेत्रको लामो अनुभव रहेकोले पनि रेटिङमा सकारात्मक प्रभाव परेको बताइएको छ।
कम्पनीमा प्रमुख प्रवर्द्धकका रूपमा रहेको निम्बुस होल्डिङस् समूहको करिब ३०.४७ प्रतिशत स्वामित्व रहेको छ। उक्त समूह कृषि वस्तुको व्यापार, उत्पादन तथा पशु–पन्छी दाना उद्योगमा लामो अनुभव भएको व्यवसायिक समूहका रूपमा चिनिन्छ।
समूह अन्तर्गतको प्रो बायोटेक इन्डष्ट्रिज नेपालकै पहिलो पेलेट फिड उद्योगमध्ये एक मानिन्छ। यस कम्पनीले पशु, कुखुरा तथा माछाका लागि आवश्यक दाना उत्पादन गर्दै देशभर आपूर्ति गर्दै आएको छ।
नेपाल वेयरहाउजिङ कम्पनीमा अन्य संस्थागत लगानीकर्ताहरूको पनि लगानी रहेको छ र शिखर इन्स्योरेन्सको ८.७३ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको को ७.२७ प्रतिशत, एनएमबि बैंकको २.९१ प्रतिशत तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २.९१ प्रतिशत स्वामित्व रहेको छ।
कम्पनीका अध्यक्ष आनन्द कुमार अग्रवाल कृषि व्यवसायमा दुई दशकभन्दा बढी अनुभव भएका व्यवसायी हुन्।
हाल कम्पनीले तराईका प्रमुख कृषि उत्पादन क्षेत्रहरूमा आफ्ना भण्डारण संरचना सञ्चालन गर्दै आएको छ। कम्पनीका वेयरहाउसहरू सुनसरी पर्सा र कपिलवस्तु जिल्लामा रहेका छन्। यी क्षेत्र धान, मकै र गहुँ जस्ता मुख्य अन्नबाली उत्पादन हुने प्रमुख कृषि बेल्टमा पर्ने भएकाले कम्पनीलाई किसान तथा कृषि बजारसँग नजिकबाट काम गर्न सहज भएको रेटिङ एजेन्सीले जनाएको छ।
हाल कम्पनीका सुनसरी र पर्सामा क्रमशः १५ हजार मेट्रिक टन र २५ हजार मेट्रिक टन क्षमताका दुई भण्डारण इकाइ सञ्चालनमा छन्। यसका अतिरिक्त कपिलवस्तुमा निर्माणाधीन अर्को ठूलो भण्डारण परियोजना पनि अघि बढिरहेको छ।
सन् २०२६ फेब्रुअरी मध्यसम्म उक्त परियोजनाको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको भए पनि वित्तीय प्रगति भने करिब ५७ प्रतिशत मात्र पुगेको छ। कम्पनीले यो परियोजना जुलाई २०२६ सम्म व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
यस परियोजनाको कुल लागत सुरुवाती अनुमान एक अर्ब ६२ करोड ७५ लाख रुपैयाँबाट बढेर एक अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। विशेषगरी सिभिल कार्यको लागत बढेका कारण परियोजनाको समग्र लागत वृद्धि भएको बताइएको छ। परियोजना ६४ः३७ को ऋण–पुँजी अनुपातमा अघि बढाइएको छ।
रेटिङ एजेन्सीका अनुसार कम्पनीको भावी रेटिङ मुख्यतः कपिलवस्तु परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन सक्ने क्षमता, सञ्चालन विस्तार, आम्दानी वृद्धि तथा नाफा सुधारमा निर्भर रहनेछ।
नेपाल वेयरहाउजिङ कम्पनी सन् २०१७ मा निजी कम्पनीका रूपमा स्थापना भएको थियो। पछि २०१८ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो।
कम्पनीले कृषि वस्तुको भण्डारण सेवा, लिलामी व्यवस्थापन, प्रयोगशाला परीक्षण सेवा तथा कृषि वस्तु ढुवानी व्यवस्थापन जस्ता सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीसँग कुल ५५ हजार मेट्रिक टन बराबरको भण्डारण क्षमता रहेको छ ।
Advertisment