काठमाडौं : नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य घटाएको छ। पसंघको कार्यसमितिको बैठकले फागुन २८ गते गरेको निर्णय अनुसार फागुन २९ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरिएको हो।
संघले देशका विभिन्न जिल्लामा रहेका अण्डा उत्पादक किसानहरूको सिफारिस, बजारको माग/आपूर्ति अवस्था तथा भौतिक रूपमा गरिएको छलफलका आधारमा नयाँ मूल्य तय गरेको जनाएको छ।
संघका अनुसार अण्डाको फार्म मूल्य चितवनलाई आधार मानी निर्धारण गरिएको छ। नयाँ मूल्य सूची अनुसार एक्सएल (ठूलो) अण्डाको मूल्य प्रति क्रेट ४५५ रुपैयाँ तोकिएको छ। यसअघि यही अण्डा ४९५ रुपैयाँ प्रति क्रेटमा बिक्री हुँदै आएको थियो । जसअनुसार नयाँ मूल्यमा ४० रुपैयाँले कमी आएको छ।
त्यसैगरी ठूलो अण्डाको मूल्य प्रति क्रेट ४४० रुपैयाँ कायम गरिएको छ। यसअघि ठुलो अण्डा ४७५ रुपैयाँ प्रति क्रेटमा बिक्री हुँदै आएको थियो। नयाँ मूल्य लागू भएसँगै ठुलो अण्डाको मूल्यमा ३५ रुपैयाँको गिरावट आएको हो।
त्यस्तै मिडियम (मझौला) अण्डाको मूल्य पनि घटाइएको छ। यसअघि ४४५ रुपैयाँ प्रति क्रेट रहेको मिडियम अण्डा अब ४१० रुपैयाँ प्रति क्रेटमा बिक्री हुने संघले जनाएको छ। यसमा पनि ३५ रुपैयाँले मूल्य घटाइएको हो।
संघका अनुसार हालै सम्पन्न निर्वाचनका कारण बजारमा अण्डाको खपत अस्वाभाविक रूपमा बढेको थियो। चुनावी गतिविधिका क्रममा विभिन्न कार्यक्रम, सभा, खानपान र होटल व्यवसायमा माग बढ्दा दैनिक उत्पादनले माग धान्न कठिन भएको थियो। त्यसका कारण केही समय अण्डाको मूल्य उच्च भएको थियो।
तर चुनाव सम्पन्न भएपछि बजारमा अण्डाको खपत क्रमशः घट्न थालेको छ। माग कम भएसँगै बजार सन्तुलन कायम गर्न मूल्य समायोजन गरी घटाइएको संघले जनाएको छ।
नयाँ मूल्य निर्धारण गर्नु अघि संघले काठमाडौं, धनगढी, नेपालगन्ज, दाङ, पोखरा, बागलुङ, झापा, मोरङ र सुनसरी लगायतका क्षेत्रमा अण्डा उत्पादन र बजार अवस्थाको अध्ययन तथा मूल्याङ्कन गरेको थियो।
संघका अनुसार हाल नेपालमा दैनिक ५० लाख गोटाभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ। उत्पादन पर्याप्त भए पनि बजारको मागमा हुने उतारचढावका कारण समय-समयमा मूल्य समायोजन गर्नुपर्ने अवस्था आउने गरेको संघले जनाएको छ।
अण्डा उत्पादक किसानहरूको हित, बजार सन्तुलन तथा उपभोक्तालाई सहज मूल्यमा अण्डा उपलब्ध गराउने उद्देश्यले नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरिएको संघका सचिव मदन पोखरेलले जानकारी दिएका छन्।
संघले देशभरका अण्डा उत्पादक किसान, व्यापारी तथा सरोकारवालालाई नयाँ समर्थन मूल्यअनुसार अण्डाको बिक्री वितरण गर्न अनुरोध समेत गरेको छ।
Advertisment