काठमाडौं : विशाल ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानीमा सञ्चालित यती ब्रुअरी लिमिटेडको व्यापारमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको छ महिनामै एक अर्ब ७१ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
कम्पनीको वार्षिक कारोबार पछिल्ला वर्षहरूमा निरन्तर उकालो लागेको देखिएको छ । सन् २०२३ मा २ अर्ब ५६ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको व्यापार सन् २०२४ मा बढेर २ अर्ब ६५ करोड १० लाख रुपैयाँ पुगेको थियो।
त्यसपछि सन् २०२५ मा कारोबार अझै बढेर ३ अर्ब १२ करोड ६० लाख रुपैयाँ पुगेको छ। बियरको बिक्री मात्रा उल्लेख्य रूपमा बढ्दै जाँदा कम्पनीको आम्दानीमा निरन्तर सुधार आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
कम्पनीको कुल आम्दानीमा सबैभन्दा ठूलो योगदान ‘अर्ना ८’ बियर ब्रान्डको रहेको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको कुल आम्दानीमध्ये करिब ६३ प्रतिशत हिस्सा यही ब्रान्डबाट आएको थियो। प्रतिवेदनअनुसार ‘अर्ना ८’ को बिक्री मात्रा एक वर्षमै करिब २५ प्रतिशतले बढेको छ ।
बिक्री बढेसँगै कम्पनीको सञ्चालन नाफामा पनि उल्लेखनीय सुधार आएको छ। कम्पनीको एबिटा मार्जिन आर्थिक वर्ष २०२४ मा ६.८४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२५ मा बढेर १०.१५ प्रतिशत पुगेको थियो। चालु आर्थिक वर्षको पहिलो छ महिनामा यो मार्जिन अझ बढेर १२.७२ प्रतिशत पुगेको छ।
कच्चा पदार्थको लागतमा कमी, विशेषगरी बोतलको मूल्य घट्नु, बिक्री तथा वितरण खर्चमा नियन्त्रण र बिक्री मात्रा बढ्दा प्राप्त भएको ‘अपरेटिङ लिभरेज’ का कारण नाफामा सुधार आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
यसैगरी कम्पनीको खुद नाफा मार्जिनमा पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०२४ मा १.५९ प्रतिशत रहेको खुद नाफा मार्जिन सन् २०२५ मा बढेर ३.९९ प्रतिशत पुगेको थियो भने चालु आर्थिक वर्षको पहिलो छ महिनामा यो ५.८३ प्रतिशत पुगेको छ।
कम्पनीको नगद प्रवाह पनि सुदृढ बन्दै गएको छ। आर्थिक वर्ष २०२४ मा २१ करोड ८० लाख रुपैयाँ रहेको ग्रस क्यास एक्रुअल आर्थिक वर्ष २०२५ मा बढेर ४७ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कम्पनीको ऋण भार क्रमशः घट्दै गएको देखिएको छ । कुल गियरिङ अनुपात आर्थिक वर्ष २०२४ मा २.३९ गुणा रहेकोमा आर्थिक वर्ष २०२५ मा घटेर १.७५ गुणामा झरेको छ। चालु आर्थिक वर्षको मध्यसम्ममा यो अनुपात अझ घटेर १.७० गुणा पुगेको छ ।
कम्पनीको ऋण तिर्ने क्षमता पनि उल्लेखनीय रूपमा सुधारिएको छ। ब्याज कभरेज अनुपात आर्थिक वर्ष २०२४ मा २.१० गुणा रहेकोमा आर्थिक वर्ष २०२५ मा बढेर ४.१७ गुणा पुगेको थियो भने चालु आर्थिक वर्षको छ महिनामा यो ७.३१ गुणा पुगेको छ। त्यस्तै डेब्ट सर्भिस कभरेज रेसियो पनि १.३९ बाट बढेर २.०४ हुँदै हाल २.६८ पुगेको छ।
कम्पनीको कारोबार र सञ्चालन नाफामा सुधार देखिएसँगै क्रेडिट रेटिङ पनि उक्लिएको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोरिमेक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको रेटिङ ‘ट्रिपल बी प्लसमा अपग्रेड गरेको जनाएको छ। यसअघि कम्पनीको रेटिङ बीबीबी रहेको थियो।
यससँगै कम्पनीका दीर्घकालीन बैंक सुविधाको रेटिङ पनि सुधार गरिएको छ भने अल्पकालीन बैंक सुविधाको रेटिङ पनि उच्च स्तरमा उक्लिएको छ। को हो।
हाल कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि कुल ३ अर्ब १९ करोड ४४ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ। कम्पनीले दीर्घकालीन कर्जा सुविधाका लागि १ अर्ब २४ करोड रुपैयाँ र अल्पकालीन कर्जा सुविधाका लागि १ अर्ब ९५ करोड ४२ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ।
कम्पनीको बोर्ड अध्यक्ष विशाल अग्रवाल रहेका छन् भने प्रबन्ध निर्देशकमा सञ्जिव सराफ रहेका छन् । कम्पनीमा सबैभन्दा बढी स्वामित्व सञ्जिव सर्राफको छ । उनको ३३.३३, जयजीव सर्राफको ११.१६ र विशाल अग्रवालको ६.८६ प्रतिशत स्वामित्व छ।
कम्पनीले ‘अर्ना’, ‘यति’, ‘शिखर’, ‘वाईबी’ र ‘किङफिसर’ गरी पाँच प्रमुख ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका बियर उत्पादन गर्दै आएको छ। ‘किङफिसर’ ब्रान्ड भने भारतीय कम्पनी युनाटेड ब्रुअरीसँगको सहकार्यमा नेपालमै उत्पादन र वितरण हुँदै आएको छ। यो ब्रान्ड विश्वका ६० भन्दा बढी देशमा उपलब्ध रहेको छ।
सन् २०१३ जनवरी २ मा स्थापना भएको कम्पनीले चितवनस्थित उद्योगबाट सन् २०१७ मार्चदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। सुरुमा करिब १ करोड ३० लाख लिटर वार्षिक उत्पादन क्षमता रहेको कम्पनीले चरणबद्ध विस्तार गर्दै हाल करिब ४ करोड ३० लाख लिटर उत्पादन क्षमता पुर्याएको छ।
कम्पनी सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। बजार विस्तारको रणनीतिसहित कम्पनीले विदेश निर्यात पनि सुरु गरिसकेको छ। हाल कम्पनीले भारत, जापान, अष्ट्रेलिया र अमेरिका लगायतका देशहरूमा आफ्नो उत्पादन निर्यात गर्दै आएको छ।
Advertisment