Below Menu
Below Menu

सहुलियतपूर्ण नीति र टीभीएसको ब्रान्ड क्रेज: जगदम्बा मोटर्सले गर्यो एक वर्षमा सात अर्बको व्यापार 

सहुलियतपूर्ण नीति र टीभीएसको ब्रान्ड क्रेज: जगदम्बा मोटर्सले गर्यो एक वर्षमा सात अर्बको व्यापार 

काठमाडौं : नेपालका लागि टीभीएस सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक वर्षमा करिब सात अर्बको व्यापार गरेको छ । सन् २०२५ मा कम्पनीले ६ अर्ब ९९ करोड ९० लाखको व्यापार गरेको हो । 

उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब ४४ प्रतिशतले बढी हो । सन् २०२४ मा कम्पनीले ४ अर्ब ८५ करोडको व्यापार गरेको थियो भने सन् २०२३ मा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । 

पछिल्ला वर्षहरुमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको छ महिनामै चार अर्ब ४२ करोड २० लाख रुपैयाँको कारोबार गरिसकेको छ । अटोमोबाइल बजारमा समग्र माग बढ्नुका साथै कम्पनीको उत्पादन र बिक्री बढेका कारण कम्पनीको व्यापार बढेको रिपोर्टमा उल्लेख छ । 

व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन करिब ८ प्रतिशतभन्दा माथि स्थिर रहेको छ। खुद नाफा मार्जिन सन् २०२४ मा ६.०२ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर ७.०९ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामै यो दर ८.१५ प्रतिशतसम्म पुगेको छ । 

नाफामा भएको सुधारसँगै कम्पनीको नगद प्रवाह पनि बलियो बनेको छ। सन् २०२५ मा कम्पनीको ग्रस क्यास एक्रुअल ४० करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२४ मा २४ करोड ५० लाख रुपैयाँ मात्र थियो।  

कम्पनीको पूँजी संरचनामा पनि सुधार देखिएको छ। प्रतिवेदनअनुसार माघ महिनासम्म कम्पनीको ओभरअल गियरिङ रेसियो ०.६८ गुणामा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षको असारमा १.१४ गुणा थियो।  

त्यसैगरी कम्पनीको ऋण तिर्ने क्षमता पनि बलियो रहेको देखिएको छ। कम्पनीको इन्ट्रेस्ट कभरेज रेसियो ११.५७ गुणा पुगेको छ भने डेब्ट सर्भिस कभरेज रेसियो ९.४२ गुणा पुगेको छ।

वित्तीय सुधारका कारण कम्पनीको बैंकिङ कर्जा सुविधासम्बन्धी क्रेडिट रेटिङ पनि उक्लिएको छ। इन्फोरिमेक्सले कम्पनीको दीर्घकालीन बैंक सुविधा रेटिङ ट्रिपल बी तथा अल्पकालीन बैंक सुविधा रेटिङ ए–थ्री प्लसमा स्तरवृद्धि गरेको जनाएको छ। 

हाल कम्पनीले दीर्घकालीन बैंकिङ कर्जा सुविधाका लागि ४ करोड रुपैयाँ र अल्पकालीन कर्जा सुविधा २ अर्ब ६६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ।

सन् २०१४ मा स्थापना भएको जगदम्बा अटो ग्रुप नेपालमा टीभीएस मोटर कम्पनीका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीसाधनको अधिकृत एसेम्बल एकाइका रूपमा सञ्चालनमा छ। कम्पनीले भारतबाट कम्प्लिटली नक्स्ड डाउन अवस्थाका सवारीसाधन तथा पार्टपुर्जा आयात गरी नेपालमै एसेम्बल गर्ने गर्छ।

यसरी एसेम्ब्ली गरिएका सवारीसाधनहरू कम्पनीले पूर्ण रूपमा आफ्नो समूहकै कम्पनी जगदम्बा मोटर्स प्रालिलाई बिक्री गर्छ, जुन नेपालमा टीभीएस ब्रान्डका सवारीसाधनहरूको आधिकारिक वितरक हो। हाल नेपालभर जगदम्बा मोटर्सका १४१ आधिकारिक डिलरहरू रहेका छन्।

शंकर ग्रुपको औद्योगिक अनुभव, व्यवस्थापन टोलीको दक्षता तथा बजारमा टीभीएस ब्रान्डको स्थिर मागका कारण कम्पनीको सञ्चालनमा स्थायित्व रहेको रेटिङ प्रतिवेदनमा उल्लेख गरिएको छ। जगदम्बा मोटर्सका निर्देशक शाहिल अग्रवाल रहेका छन् । 

यद्यपि कम्पनीमा केही जोखिम भने रहेका छन् । कम्पनीले सवारीसाधन तथा पार्टपुर्जा पूर्ण रूपमा टीभीएस मोटर कम्पनीबाट मात्रै खरिद गर्ने र उत्पादित सवारीसाधनहरू आफ्नै समूह कम्पनी जगदम्बा मोटर्सलाई मात्र बिक्री गर्ने भएकाले एकै आपूर्तिकर्ता र ग्राहकमा निर्भरता उच्च रहेको देखिन्छ। यसले व्यवसायिक विविधीकरण सीमित बनाउने जोखिम रहेको प्रतिवेदनले औंल्याएको छ।

यससँगै अटोमोबाइल बजारमा प्रतिस्पर्धा पनि तीव्र बन्दै गएको छ। बजारमा होण्डा मोटर कमपनी, बजाज अटो, हिरो मोटोकर्प, यमाहा मोटर कम्पनीजस्ता स्थापित ब्रान्डहरूको बलियो उपस्थितिका साथै नयाँ एसेम्ब्ली उद्योगहरू थपिँदै जाँदा प्रतिस्पर्धा अझ बढ्ने सम्भावना रहेको बताइएको छ।

त्यसैगरी अटोमोबाइल आयातसम्बन्धी सरकारी नीति, भन्सार दर वा अन्य नियामकीय व्यवस्थामा हुने परिवर्तनले पनि कम्पनीको व्यवसाय प्रभावित हुन सक्ने जोखिम रहेको छ।

यद्यपि नेपाल सरकारले स्थानीय एसेम्ब्ली उद्योगलाई प्रोत्साहन गर्न एक्साइज ड्युटीमा ५० प्रतिशत र आयात शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेकोले यस्तो सुविधा कम्पनीका लागि सकारात्मक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

Advertisment

थप समाचार