Below Menu
Below Menu

पाँचतारे ‘क्राउन प्लाजा’ ल्याउँदै लुम्बिनी हेरिटेजः एक अर्ब पाँच करोड लगानी थप, नाफा मार्जिन ३६ प्रतिशत

पाँचतारे ‘क्राउन प्लाजा’ ल्याउँदै लुम्बिनी हेरिटेजः एक अर्ब पाँच करोड लगानी थप, नाफा मार्जिन ३६ प्रतिशत

काठमाडौं : पछिल्ला वर्षहरूमा लुम्बिनी हेरिटेज लिमिटेडकाे व्यापार क्रमिक रूपमा सुधार हुँदै गएको देखिएको छ। होटल व्यवसायमार्फत सञ्चालन गर्दै आएको कम्पनीले आम्दानी र नाफा दुवैमा उल्लेखनीय प्रगति हासिल गरेको छ भने परियोजनाको विस्तार योजनालाई पनि तीव्रता दिएको छ।

कम्पनीले सार्वजनिक गरेको सन् २०२५ को अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा करिब ६ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ। अघिल्ला आर्थिक वर्ष २०२३ र २०२४ मा कम्पनीको आम्दानी करिब ४ करोड रुपैयाँको हाराहारीमा सीमित रहेको थियो।

लुम्बिनी क्षेत्रमा पर्यटन गतिविधि विस्तार हुँदै जाँदा होटल तथा पर्यटन व्यवसायमा पनि सुधार देखिन थालेको छ। जसका कारण कम्पनीको आम्दानीमा सुधार देखिएको हो । 

कम्पनीको सञ्चालन नाफामा पनि उल्लेखनीय सुधार देखिएको छ। सन् २०२४ मा ९.७३ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा बढेर ३६.३७ प्रतिशत पुगेको छ। त्यस्तै कम्पनीको चालु अनुपात पनि सन् २०२५ मा १४.०८ गुणा पुगेको छ । 

कम्पनीले हाल सञ्चालनमा रहेको होटललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने योजना अघि बढाएको छ। यसका लागि कम्पनीले विश्वप्रसिद्ध होटल व्यवस्थापन समूह इन्टरकन्टिनेन्टल होटल ग्रुपसँग व्यवस्थापन सम्झौता गरेको छ। 

उक्त सम्झौताअनुसार होटललाई ‘क्राउन’ ब्रान्डअन्तर्गत सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ। यसअन्तर्गत कम्पनीले हालको संरचनालाई विस्तार गर्दै १३८ कोठासहितको पाँचतारे स्तरको होटल निर्माण गरिरहेको छ। उक्त होटल सन् २०२७ जनवरी १ देखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

होटल स्तरोन्नतिका लागि एक अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबरको थप लगानी आवश्यक पर्ने अनुमान गरिएको छ। परियोजनाको वित्तीय व्यवस्थापन ऋण र इक्विटी दुवै स्रोतबाट गरिने योजना छ। हाल निर्माण तथा विकाससँग सम्बन्धित विभिन्न कार्यहरू अघि बढिरहेको कम्पनीले जनाएको छ।

पाँचतारे स्तरमा रूपान्तरण भएपछि होटलमा आधुनिक आवास सुविधा, उच्चस्तरीय खाद्य तथा पेय सेवा, अन्तर्राष्ट्रिय स्तरका सम्मेलन तथा बैंक्वेट हल, स्वास्थ्य तथा मनोरञ्जनसम्बन्धी विभिन्न सुविधाहरु हुनेछ । 

यो होटल रुपन्देहीको कोटहीमाई क्षेत्रमा रहेको छ । होटल गौतमबुद्ध अतर्राष्ट्रिय विमानस्थलबाट करिब १२ किलोमिटर दूरीमा रहेको छ। साथै लुम्बिनी नजिकै रहेको कारण धार्मिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आवागमनबाट होटल व्यवसायलाई दीर्घकालीन लाभ पुग्ने अपेक्षा गरिएको छ। 

बुद्ध जन्मस्थलका रूपमा विश्वभर परिचित लुम्बिनीमा वर्षेनी ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्, जसले पर्यटन व्यवसायको सम्भावना अझै बढाएको छ।

कम्पनीको नेतृत्व व्यवसायी सुवास अमात्यले गरिरहेका छन्। उनको नेतृत्वमा रहेको प्रवर्द्धक समूहले हस्पिटालिटी, हाइड्रोपावर तथा बीमा लगायत विभिन्न क्षेत्रमा अनुभव हासिल गरेको छ।  

कम्पनी सुरुमा ‘होटल पवन प्यालेस प्रालि’ नामबाट सन् २०१४ मा स्थापना भएको थियो। पछि प्रवर्द्धक तथा व्यवस्थापन परिवर्तनसँगै कम्पनीको नाम परिवर्तन गरी लुम्बिनी हेरिटेज लिमिटेड राखिएको हो। सन् २०२५ जुलाई २ मा कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । 

कम्पनीले दुई अर्ब रुपैयाँ बराबरको बैंक ऋण सुविधाका लागि क्रेडिट रेटिङ पनि गराएको छ। क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ।  

Advertisment

थप समाचार