काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सञ्चालक समिति सदस्य लीमा अधिकारी आचार्यले पदबाट राजीनामा दिएकी छन्। उनको राजीनामा बैंकको सञ्चालक समितिको १७८औँ बैठकले स्वीकृत गरेको छ।
चैत ३ गते बिहान बसेको बैठकले आचार्यले दिएको राजीनामा सोही मितिदेखि लागू हुने गरी अनुमोदन गरेको हो। रिक्त पदमा अनिता रायमाझी लाई नयाँ सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णयसमेत गरिएको बैंकले जनाएको छ।
आचार्य सर्वसाधारण समूहको प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेकी थिइन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि बैंकको जिम्मेवारीबाट अलग भएकी हुन्।
दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा पुनः निर्वाचित भएकी आचार्यले सामाजिक सञ्जालमार्फत पनि निफ्रासँगको आफ्नो यात्रा औपचारिक रूपमा समाप्त भएको जानकारी गराएकी छन्। उनले नेपालको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने संस्थासँग आबद्ध हुन पाउनु आफ्ना लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।
उनले आगामी दिनमा नेपालको पूर्वाधार विकासमा देखिएका नीतिगत तथा प्रशासनिक अवरोध समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।
५१ वर्षीया आचार्य रास्वपाकी केन्द्रीय कोषाध्यक्षसमेत हुन्। यसअघि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध थिइन्। अघिल्लो निर्वाचनमा उक्त पार्टीबाट समानुपातिक सूचीमा परे पनि प्रतिनिधित्व गर्न सफल भएकी थिइनन्।
यसपटक भने रास्वपाबाट खस आर्य कोटामा उच्च प्राथमिकतामा रहँदै प्रतिनिधिसभामा निर्वाचित भएकी हुन्। आचार्य दिवंगत एमाले नेता भरतमोहन अधिकारीकी छोरीसमेत हुन्।
Advertisment