काठमाडौं : सर्लाहीको हरिवनमा सञ्चालनमा रहेको इन्दु शंकर चिनी उद्योग लिमिटेडले सन् २०२५ मा दुई अर्ब ४० करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.२९ प्रतिशतले कम हो।
सन् २०२४ मा कम्पनीको व्यापार दुई अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको थियो भने सन् २०२३ मा दुई अर्ब ४० लाख र सन् २०२२ मा एक अर्ब ५९ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो।
चिनी उत्पादनको रिकभरी रेटमा आएको गिरावटले कम्पनीको आम्दानी घटेको रिपोर्टमा उल्लेख छ । उद्योगको प्रतिवेदन अनुसार ऊखुबाट चिनी निकाल्ने दर आर्थिक वर्ष २०२५ मा घटेर ८.२४ प्रतिशतमा सीमित भएको छ । जबकि अघिल्लो वर्ष यो ८.७७ प्रतिशत थियो।
उत्पादन दक्षतामा आएको गिरावटले प्रत्यक्ष रूपमा सञ्चालन नाफामा पनि असर पारेको छ । कम्पनीको सञ्चालन नाफा मार्जिन ११.४ प्रतिशतबाट घटेर ८.१ प्रतिशतमा झरेको छ।
यद्यपि, कम्पनीको डिस्टिलरी व्यवसायले भने केही राहत दिएको छ। पछिल्लो वर्ष डिस्टिलरीबाट प्राप्त आम्दानी उल्लेखनीय रूपमा बढ्दै कुल आम्दानीको करिब १८ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ, जुन अघिल्लो वर्ष मात्र ९ प्रतिशत थियो।
उता उत्पादन लागतमा भइरहेको वृद्धि कम्पनीका लागि अर्को चुनौती थपिएको छ। सरकारले ऊखुको न्यूनतम समर्थन मूल्य बढाउँदै लगेको छ। चालु वर्षका लागि प्रति क्विन्टल ५८५ रुपैयाँ निर्धारण गरिएको मूल्य आगामी वर्षका लागि ६२० रुपैयाँ पुर्याइने निर्णयले लागत झनै बढाउने देखिएको छ।
यससँगै चिनी आयातमा लाग्ने भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइएकाले विदेशी चिनीसँग प्रतिस्पर्धा अझ कडा हुने अनुमान गरिएको छ, जसले स्वदेशी उद्योगको नाफामा थप दबाब देखिने छ ।
उच्च ऋणभारका कारण कम्पनीको गियरिङ अनुपात करिब ३.६ गुणासम्म पुगेको छ। विशेषगरी गोदाममा चिनी भण्डारण गर्नका लागि लिइने कार्यशील पूँजी ऋण बढ्दा यस्तो अवस्था आएको हो।
यसका कारण ऋण भुक्तानी क्षमता १.४ गुणामा झरेको छ । जुन अघिल्लो वर्ष १.७ गुणा थियो। साथै कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात पनि बढेर ७.३ गुणा पुगेको छ ।
कम्पनीको कर्जा रेटिङ भने यथावत् राखिएको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋणलाई ‘बीबी माइनस’ र अल्पकालीन ऋणलाई ‘एफोर’ रेटिङ पुनः पुष्टि गरेको छ।
कम्पनीले कुल एक अर्ब ९४ करोड १० लाख रुपैयाँ बराबरको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसअन्तर्गत ४० करोड १० लाख रुपैयाँ दीर्घकालीन र एक अर्ब ५४ करोड रुपैयाँ अल्पकालीन कर्जा रेटिङ गराएको हो ।
यद्यपि, उत्पादन दक्षता केही घटेको भए पनि ऊखु क्रसिङमा भएको वृद्धि र बजार मूल्यमा आएको सुधारले कम्पनीको आम्दानीलाई केही हदसम्म सन्तुलन दिएको देखिन्छ।
सन् १९८४ देखि सञ्चालनमा रहेको यस उद्योगले ‘राजहंस’ ब्रान्डमार्फत चिनी उत्पादन गर्दै आएको छ। कम्पनीमा राजेशकुमार केडिया र उनका परिवारको स्वामित्व रहेको छ।
Advertisment