काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादी विरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सो नगरपालिकामा असिस्टेन्ट सब–इन्जिनियर पदमा करार सेवामा कार्यरत मोहन शाहसँग सेवा करार म्याद थप गरिदिने नाममा नगरप्रमुख वादीले एक लाख रुपैयाँ घुस मागेका थिए। उजुरीअनुसार, माग गरिएको रकम बैंक खातामार्फत बुझाएपछि मात्र शाहको करार नवीकरण गरिएको थियो।
अनुसन्धानका क्रममा नगरप्रमुख वादीले आफ्नो पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभका लागि घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। सो कार्य भ्रष्टाचार निवारण ऐन अन्तर्गत कसुर ठहर हुने भएकाले उनीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको छ। साथै, घुसबापत लिएको रकम जफत गर्न र पदमा रहँदा गरेको कसुरका आधारमा थप सजायसमेत माग गरिएको छ।
त्यसैगरी, घुस दिने पक्षका रूपमा रहेका मोहन शाहविरुद्ध पनि मुद्दा दायर गरिएको छ। आयोगका अनुसार, शाहले आफ्नो करार अवधि निरन्तरता गराउन नगरप्रमुखलाई घुस दिएको पुष्टि भएको छ। यस कार्यले नगरपालिकालाई हानी पुर्याएको ठहर गर्दै उनीविरुद्ध पनि सोही ऐनअनुसार कारबाही माग गरिएको छ।
आयोगले दुवै प्रतिवादीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
Advertisment