काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका अन्तर्गत डोलेश्वर क्षेत्रमा अवस्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस चारतारे स्तरको होटलमा स्तरोन्नति हुने भएको छ । हाल १५ कोठाबाट सञ्चालनमा रहेको रिसोर्टले कोठा संख्या बढाएर ४० पुर्याउने योजना अघि बढाएको हो ।
साथै कम्पनीले स्विमिङ पुल, स्पा लगायत आधुनिक सुविधा थप्ने योजना बनाएको छ । रिसोर्ट विस्तारका लागि करिब १५ करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।
कम्पनीले यो परियोजना २०ः८० को ऋण–इक्विटी संरचनाबाट सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ । जसअन्तर्गत १२ करोड रुपैयाँ इक्विटी र ३ करोड रुपैयाँ ऋणमार्फत स्रोत जुटाइनेछ।
केयर रेटिङ नेपालले कम्पनीलाई ‘बी प्लस’ श्रेणीको रेटिङ प्रदान गरेको छ। सन् २०१६ मा स्थापना भई सन् २०२५ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको यस रिसोर्टले पछिल्ला वर्षहरूमा आम्दानीमा क्रमिक वृद्धि गरेको छ।
कम्पनीले सन् २०२५ मा ३ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो सन् २०२४ मा कम्पनीले ३ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
कम्पनीको नाफा मार्जिन २६ प्रतिशतको हाराहारीमा स्थिर रहेको छ । यद्यपी खुद नाफा भने कम नै रहेको छ । नगद प्रवाहमा सुधार देखिए पनि ऋणको तुलनामा वित्तीय अवस्था अझ सुदृढ हुन बाँकी रहेको रिपोर्टमा उल्लेख छ ।
कम्पनीको नेतृत्व अध्यक्ष रामनाथ मैनाली र प्रबन्ध निर्देशक दोरबहादुर भण्डारीले गरिरहेका छन्। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण डोलेश्वर महादेव मन्दिर नजिकै रहेको यस रिसोर्टले तीर्थयात्री तथा आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्ने उच्च सम्भावना बोकेको छ।
यसैबीच, कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी पनि अघि बढाएको छ। विशेष साधारण सभाबाट जारी पूँजीको ३० प्रतिशत बराबर १६ लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रस्ताव पारित भइसकेको छ। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका शेयर सार्वजनिक गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको जनाएको छ।
आईपीओ निष्कासन प्रक्रियाका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। करिब १० रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट हाल विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिक जस्ता कार्यक्रमका लागि लोकप्रिय गन्तव्यको रूपमा स्थापित भइसकेको छ।
Advertisment