आफूहरुलाई प्रभावकारी र परिणामुखी बनाउन हामी तयार छौं : सांसद विश्वकर्मा

आफूहरुलाई प्रभावकारी र परिणामुखी बनाउन हामी तयार छौं : सांसद विश्वकर्मा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले अघिल्ला राजनीतिक दलहरूले समानुपातिक प्रणालीको अभ्यास गर्दा समग्र राजनीतिलाई नै वितृष्णा र पेसामुखी बनाएको टिप्पणी गरेकी छन् ।

Sponsored Advertisement

बिहीबार निर्वाचन आयोगले प्रदान गरेको समानुपातिक सांसदहरुलाई प्रमाणपत्र ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिलेको आवश्यकता राजनीतिक अभ्यासलाई सुसंस्कृत बनाउने भएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) यस दिशामा अघि बढिरहेको बताइन् ।

उनका अनुसार रास्वापाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूलाई हेर्दा समाजको वास्तविक प्रतिबिम्ब देख्न सकिन्छ ।

उनले भनिन्, ‘यो भन्दा अगाडिका दलहरुले समानुपातिकको विषयमा गर्नुभएको अभ्यासले समग्र राजनीतिलाई नै एउटा वितृष्णा र पेसाको विषय बनाउनु भएको छ । हामी चाँही आजसम्म राजनीतिक अभ्यास जे जति भए, त्यसलाई सुसंस्कृत बनाउनुपर्छ भनेर अगाडि सरेका छौं । रास्वापबाट प्रतिनिधित्व गरेर आएका प्रतिनिधि हेर्दा समाजको छनक देख्न सकिनेछ ।’

सांसद विश्वकर्माले जेनजीलाई छुट्टै रूपमा चित्रण गर्न आवश्यक नरहेको उल्लेख गर्दै उनीहरू समाजकै अभिन्न हिस्सा भएको बताइन् । लामो समयदेखि समाजले सहँदै आएको बेथिति र कुरीतिविरुद्ध आवाज उठाउन जेनजीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

‘जेनजीलाई छुट्टै किसिमले प्रस्तुत गर्न जरुरी छैन् । उहाँहरु हाम्रै हिस्सा यो । उहाँहरुले हामीले लामो समयसम्म सहेर बसेको बेतिथिको बारेमा प्रतिनिधित्व गरेर हाम्रा लागि आवाज उठाइदिनुभएको हो । उहाँहरु समाजकै हिस्सा हो,’उनले भनिन् ।

उनले आफूहरुलाई प्रभावकारी र परिणामुखी बनाउनको लागि रास्वापका सांसद तयारी गरिरहेको छौं ।

यस्तै , नेपाली कम्युनिष्ट पार्टीको समानुपाति सांसद प्रेम बहादुर बयकले जनताको पक्षमा हुने रास्वपाको हरेक निर्णयमा नेकपाको समर्थन र सहकार्य हुने धारणा राखे ।

‘हामी राष्ट्र र राष्ट्रियता बचाउन, जनताको जीवनस्तर सुधार गर्न, विधिको शासन स्थापित गर्न र भ्रष्टाचारको विरुद्धमा उभिन हाम्रो हिजोपनि अभियान थियो, त्यो आज पनि रहन्छ । जनताको पक्षमा हुने रास्वपाको हरेक निर्णयमा पार्टीको समर्थन रहन्छ । त्यसको लागि सहकार्य नै गछौं,’उनले भने ।