Below Menu
Below Menu

राजेश हमालको नाम जोडेर फिल्म निर्माणमा बजेट दुरुपयोग, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

राजेश हमालको नाम जोडेर फिल्म निर्माणमा बजेट दुरुपयोग, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकामा फिल्म निर्माणको नाममा बजेट दुरुपयोग गरिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आरजे ट्वान्टी फोर न्युज र नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्सालविरुद्ध मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा महानायक राजेश हमाल को नाम र तस्बिर जोडेर “अन्धपथ” नामक चलचित्र (डकुमेन्ट्री) निर्माण गर्ने बहानामा सरकारी बजेट दुरुपयोग गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार बजेट विनियोजन नै नभएको अवस्थामा १५ लाख रुपैयाँ बराबरको सम्झौता गरिएको थियो, जसमध्ये १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको पाइएको छ। सो क्रममा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम आवश्यक प्रक्रिया—जस्तै लागत अनुमान, प्रतिस्पर्धात्मक बोलपत्र-नअपनाई सोझै खरिद सम्झौता गरिएको थियो।

त्यसैगरी, कानुनले तोकेको सीमाभन्दा बढी पेश्की दिने सर्त राखी बैंक जमानतबिना नै रकम भुक्तानी गरिएको, सम्झौता एक संस्थासँग भए पनि भुक्तानी अर्कै संस्थालाई गरिएको तथा पेस गरिएका बिलहरू शंकास्पद र नक्कली रहेको आयोगको ठहर छ।

अनुसन्धानबाट १२ लाख ७७ हजार २५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरिएको पुष्टि भएको आयोगले जनाएको छ। उक्त रकमलाई बिगो कायम गरी सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा जरिवानाको माग गरिएको छ।

मुख्य आरोपित अध्यक्ष साउदले पदको दुरुपयोग गरी योजनाबद्ध रूपमा भ्रष्टाचार गरेको ठहर गर्दै उनीविरुद्ध थप सजायको मागसमेत गरिएको छ। त्यस्तै, रामजी लम्साललाई मतियारको रूपमा मुख्य कसुरदारसरह सजाय माग गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले सार्वजनिक स्रोतको दुरुपयोग गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताएका छन्।

Advertisment

थप समाचार