Below Menu
Below Menu

रौतहटमा वर्षा र हावाहुरीको वितण्डाः चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा

रौतहटमा वर्षा र हावाहुरीको वितण्डाः चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा

रौतहट : चैत ६ र ७ गते (शुक्रबार र शनिबार) परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहटका इट्टा उद्योगहरूमा ठुलो क्षति पुगेको छ । खुला स्थानमा सुकाउन राखिएका काँचो इट्टाहरू वर्षाले भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।

रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष एवं एसपिएल इट्टा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार जिल्लामा सञ्चालित करिब ५० वटा इट्टा उद्योगहरूमा सबैभन्दा बढी क्षति पुगेको छ । संकलित तथ्यांकअनुसार विभिन्न स्थानका उद्योगहरूमा गरी १० लाख भन्दा बढी काँचो इट्टा पूर्ण रूपमा नष्ट भएका छन् ।

वृन्दावन नगरपालिका–२ स्थित राधाकृष्ण इट्टा उद्योगमा मात्रै ५५ लाख भन्दा बढीको क्षति भएको सञ्चालक प्रेमशंकर यादवले जानकारी दिए । यस्तै बिके, वीर, पूजा, एमबिआई, सोना र रामजानकी लगायतका ५० वटा उद्योगहरू नराम्ररी प्रभावित भएका छन् ।

एउटा काँचो इँट्टा तयार गर्न माटो, पानी र मजदुरीसहित औसत ७ रुपैयाँभन्दा बढी लागत लाग्ने गर्दछ । सुकाउने प्रक्रियामै रहेका इँट्टा वर्षाले गलाएपछि व्यवसायीहरूको करोडौँको लगानी माटोमा मिलेको छ ।

अध्यक्ष साहले भने, ‘हाम्रो लगानी डुब्न लाग्दा पनि सरकार, स्थानीय प्रशासन वा वित्तीय निकायले कुनै चासो देखाएका छैनन् । हामीले बिमा प्रणालीको व्यवस्था गर्न बारम्बार आग्रह गर्दै आएका छौँ, तर सुनुवाइ भएको छैन ।’

प्राकृतिक प्रकोपबाट हुने यस्तो क्षति न्यूनीकरणका लागि काँचो इँट्टाको पनि बिमा प्रणाली अवलम्बन गर्नुपर्ने व्यवसायीहरूको माग छ । बिमा सुविधा नहुँदा हरेक वर्ष व्यवसायीहरूले ठुलो जोखिम मोल्नु परिरहेको उनीहरूको गुनासो छ ।

यतिबेला पीडित इँट्टा उद्योगीहरूले सरकार, उद्योग मन्त्रालय, विपद् व्यवस्थापन निकाय र बिमा कम्पनीहरूलाई तत्काल राहत र दीर्घकालीन सुरक्षाका लागि पहल गर्न जोडदार माग गरेका छन् ।

Advertisment

थप समाचार