काठमाडौं : नेपालमा टोयोटा गाडी बेच्ने युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामै तीन अर्ब ३९ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२५ मा ५ अर्ब ४० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसअघि सन् २०२४ मा ३ अर्ब २४ करोड रुपैयाँको व्यापार गरेको थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा करिब ३२ करोड रुपैयाँ र करपछिको नाफा १८ करोड २० लाख रुपैयाँ पुगेको छ । विशेषगरी प्रिमियम एसयूभी तथा कमर्शियल सवारीसाधनप्रति बढ्दो मागले कम्पनीको बिक्री बढेको रिपोर्टमा उल्लेख छ ।
सन् २०२५ मा ९.४९ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन चालु आवको छ महिनामा ९.४३ प्रतिशत कायम भएको छ । सन् २०२४ मा यस्तो मार्जिन ११.१४ प्रतिशत रहेको थियो ।
चालु आवको छ महिनामा कम्पनीको कुल गियरिङ अनुपात १.११ गुणा रहेको छ भने ब्याज कभरेज रेसियो ५.२१ गुणा र चालु अनुपात ४.४७ गुण रहेको छ ।
कम्पनी नेपालमा टोयो मोटर कर्पोरेसनका सवारीसाधनहरूको आधिकारिक वितरकका रूपमा परिचित छ । टोयोटा ब्रान्डको विश्वव्यापी विश्वसनीयता, टिकाउपन र गुणस्तरले नेपाली बजारमा पनि बलियो स्थान बनाएको छ ।
हाल कम्पनीले काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, विराटनगर, जनकपुर, धनगढी, नेपालगञ्ज र झापालगायत प्रमुख शहरहरूमा १० वटा डिलरमार्फत सेवा दिइरहेको छ। साथै, आफ्नै तीनवटा सोरुम र दुईवटा सेवा केन्द्रमार्फत प्रत्यक्ष ग्राहक सेवा पनि सञ्चालनमा छ ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीकाे ऋण–पूँजी अनुपात १.०८ गुणामा झरेको छ । जुन अघिल्लो वर्ष १.४१ गुणा थियो। समग्र ऋण अनुपात पनि १.८१ गुणाबाट घटेर १.३१ गुणामा झरेको छ। हाल कम्पनीको कुल ऋण एक अर्ब ४९ करोड ८० लाख रुपैयाँ रहेको छ।
वि.सं. १९७१ (सन् १९७१) मा स्वर्गीय विजयगजानन्द वैद्यद्वारा स्थापना गरिएको यस कम्पनी वैद्य समूहअन्तर्गत सञ्चालनमा छ । यो समूह सन् १९६७ देखि नै टोयोटा सवारीसाधन, पार्टपुर्जा तथा मर्मत–सम्भार सेवाको व्यापारमा सक्रिय रहेको छ।
कम्पनीमा सुरज वैद्यको ६० प्रतिशत, रितु सिंह वैद्यको ३० प्रतिशत, सुसन वैद्य श्रेष्ठको १० प्रतिशत र सूर्यांस वैद्य श्रेष्ठको १० प्रतिशत शेयर रहेको छ।
नेपालको अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको कम्पनीको वित्तीय तथा व्यावसायिक सुधारसँगै कर्जा रेटिङ पनि उकासिएको छ । केयर रेटिङ नेपालले कम्पनीको दीर्घकालीन बैंक सुविधा रेटिङ त्रिपल बी माइनस र अल्पकालीन रेटिङ पनि एथ्री कायम गरेको छ ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि २ अर्ब ९७ करोड ३८ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । जसमा दीर्घकालिन कर्जाका लागि एक अर्ब २१ करोड ३८ लाख र अल्पकालिन कर्जाका लागि एक अर्ब ७६ करोडको कर्जा रेटिङ गराएको हो ।
Advertisment