Below Menu
Below Menu

पदभार ग्रहणपछि अर्थमन्त्रीले भने- ‘अब कुनै पनि तरिकाले घुस खाने वा खुवाउनेको समय सकियो’

पदभार ग्रहणपछि अर्थमन्त्रीले भने- ‘अब कुनै पनि तरिकाले घुस खाने वा खुवाउनेको समय सकियो’

काठमाडौं : नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणपछि अर्थ मन्त्रालय मातहतका निकायलाई आर्थिक सुधार र सुशासनमा कुनै सम्झौता नहुने बताएका छन्।

पदभार ग्रहणलगत्तै उनले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले आफूहरू महत्त्वपूर्ण जनादेश लिएर आएको बताउँदै परम्परागत ढाँचाबाट बाहिर निस्केर काम गर्ने बताए। उनले ‘नियमित प्रक्रियाबाट अब जनअपेक्षा पूरा नहुने भएकाले त्यसलाई आफूहरु क्रमभंग गर्न आएकाे बताए।

उनले कर्मचारीतन्त्रसँग सहकार्यको भावना लिएर आएको स्पष्ट पार्दै भने, ‘म कर्मचारीलाई गाली गर्न आएको होइन। हामी राजनीति गर्ने मान्छे असल भए तपाईंहरू पनि गलत गर्न सक्नुहुन्न। माछा टाउकाेबाट बिग्रिन्छ, हामी ठीक भए प्रणाली पनि ठीक हुन्छ।’

मन्त्री वाग्लेले सुशासन र जनताको हितलाई पहिलो प्राथमिकतामा राख्दै भने, ‘राम्रो काम गर्नेलाई सधैं साथ र माया हुन्छ। तर गलत बाटोमा हिँड्नेहरूसँग कुनै सम्झौता हुँदैन।’

उनले राजनीतिक पूर्वाग्रह नराख्ने प्रतिबद्धता जनाउँदै कर्मचारीहरूलाई मेरिट र इमान्दारितामा आधारित भएर काम गर्न आग्रह गरे। ‘दलीयकरणको छायाँबाट टाढा रहनुहोस्, म मेरिट हेर्छु,’ उनले भने, ‘अब कुनै पनि तरिकाले घुस खाने वा खुवाउनेको समय सकियो।’

वाग्लेले वर्तमान आर्थिक अवस्थालाई ‘बरालिएको’ बताउँदै त्यसलाई ट्र्याकमा ल्याउने प्रतिबद्धता जनाए। ‘जनताले विगतका विसंगतिलाई चिर्न दुईतिहाइ बहुमत दिएका छन्। हामी त्यसैमा टेकेर रिफर्म गर्न आएका हौं,’ उनले भने।

उनका अनुसार आगामी बजेटमार्फत आर्थिक राजकाजमा ठूला रूपान्तरण गरिनेछ। ‘तपाईंहरूको योजना र क्षमता प्रयोग गर्नुहोस्,’ उनले कर्मचारीहरूलाई निर्देशन दिए।

मन्त्री वाग्लेले नेपाली डायस्पोरालाई अर्थतन्त्रसँग जोड्ने योजना अघि सार्दै उनले भने, ‘एकपटकका नेपाली सधैंका लागि नेपाली । हामी उहाँहरूको लगानी र सम्पत्ति सुरक्षा गर्छौं, त्यसपछि विदेशी लगानी पनि आकर्षित हुन्छ।’

उनले आफू एक थान मन्त्री खान आएको नभई, विराट लक्ष्य लिएर आएको बताए।

Advertisment

थप समाचार