काठमाडौं : नेपालमा क्यूआर आधारित भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार हुँदै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षहरूमा क्यूआर भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढ्दै जाँदा नगदरहित कारोबारलाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुगेको छ।
डिजिटल परिवर्तनसँगै सहकारी क्षेत्र पनि आधुनिक प्रविधितर्फ तीव्र रूपमा अघि बढिरहेको छ। पछिल्लो समय सहकारी संस्थाहरूले क्यूआर आधारित भुक्तानी प्रणालीलाई अपनाउँदै सदस्य तथा सेवाग्राहीलाई सहज, छिटो र सुरक्षित सेवा दिन थालेका छन्।
अब सहकारीका सदस्यहरूले जुनसुकै बैंक वा डिजिटल वालेटमार्फत क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा बिना शुल्क रकम सिधै आफ्नो सहकारी खातामा जम्मा हुने भएको छ। यो प्रणाली पूर्ण रूपमा रियल टाइममा आधारित भएकाले भुक्तानी गरिएको केही सेकेन्डमै खातामा रकम प्राप्त हुन्छ।
यस सुविधाले सहकारीमा रकम जम्मा गर्न कार्यालयमा धाउनुपर्ने झन्झट अन्त्य हुनेछ। विशेषगरी दैनिक कारोबार गर्ने सदस्यहरूका लागि यो सेवा निकै उपयोगी हुनेछ। मोबाइल बैंकिङ वा वालेट प्रयोग गरेर घरबाटै सहज रूपमा भुक्तानी गर्न सकिने भएपछि समय र खर्च दुवै बचत हुनेछ। डिजिटल भुक्तानीको विस्तारसँगै सहकारी क्षेत्रको पारदर्शिता र विश्वसनीयता पनि बढ्ने छ।
सहकारी क्षेत्रमा मोबाईल बैंकिङ सेवा प्रदान गर्दै आएको विभिन्न कम्पनीहरुले स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)सँग सहकार्य गरी सहकारीहरुले सेवा प्रवाह गर्दै आएको छ।
सहकारी क्षेत्रको डिजिटल रूपान्तरणलाई थप गति दिँदै देवन सफ्ट प्रा लि (आई स्मार्ट) ले स्मार्ट च्वाईस टेक्नोलोजी (एससीटी) सँग सहकार्यमा क्यूआर आधारित भुक्तानी सुविधा केही समयअघि सार्वजनिक गरेको थियो।
देवन सफ्ट प्रा लि (आई स्मार्ट) का प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनका अनुसार नयाँ सुविधाअन्तर्गत अब सहकारीका प्रत्येक सदस्यका लागि स्वतः क्यूआर कोड उपलब्ध हुनेछ। प्रयोगकर्ताले आफ्नो क्यूआर अन्य व्यक्तिलाई देखाएर वा शेयर गरेर जुनसुकै बैंक वा डिजिटल वालेटमार्फत सजिलै भुक्तानी प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार, यस प्रणालीको मुख्य विशेषता रियल टाइम ट्रान्जेक्सन हो, क्यूआर स्क्यान गरेर पठाइएको रकम तुरुन्तै सम्बन्धित सदस्यको सहकारी खातामा जम्मा हुनेछ। साथै, यस सेवामा कुनै पनि प्रकारको कारोबार शुल्क नलाग्ने व्यवस्था गरिएको छ जसले प्रयोगकर्तालाई थप आर्थिक सहजता प्रदान गर्ने विश्वास गरिएको छ। यो प्रविधिले सहकारी संस्थाहरूलाई अझ डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने सीईओ महर्जन बताउँछन् ।
किसान कल्याण साकोस, नवजागरण साकोस, शुभ सन्देश साकोस, आर्थिक विकास मित्र साकोस, आभाष साकोस, सदस्य सेवा साकोस, अजम्बरी साकोस लगायतले आईस्मार्ट प्रयोग गर्दै आएको छ।
स्मार्ट डिजिटल सहकारी प्रणालीले मोबाईल नम्बर आधारित क्यूआर जेनेरेशन, सहज प्रयोग अनुभव तथा सुरक्षित भुक्तानी संरचनामार्फत सहकारी सदस्यहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। विशेषज्ञहरूका अनुसार यस्ता प्रविधिहरूको प्रयोगले सहकारी क्षेत्रलाई परम्परागत प्रणालीबाट डिजिटल प्लेटफर्मतर्फ रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
सहकारीहरुमा मोबाईल बैंकिङ सेवा प्रवाह गर्दै आईरहेको कम्पनी देवन सफ्ट (आईस्मार्ट), इन्फो डेभलपर्स (एम डबली), एम बैंक टेक्नोलोजी (एम बैंक) ले यो सेवा प्रवाह गर्दै आएको छ।
नेचुरल बचत तथा ऋण सहकारीले इन्फो डेभलपर्ससँगको सहकार्यमा केही दिन अघि मात्रै सिधै नेचुरल सहकारीको खातामा पैसा ट्रान्सफर गर्न सकिने सुविधा सुरु गरेको छ।
Advertisment