काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई सहज र सहयोगी वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा उनले अब निजी क्षेत्रले घुस खुवाउन, अनावश्यक लाइनमा बस्न वा साना–तिना प्रशासनिक कारणले थुनिनु नपर्ने स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले आफू घुस खान नआएको र कसैलाई पनि यस्तो कार्य गर्न नदिने दृढ अडान व्यक्त गर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउने लक्ष्यका साथ काम गरिरहेको बताए। उनले निजी क्षेत्रलाई लगानी विस्तार गरी रोजगारी सिर्जना गर्न आग्रह गर्दै सरकार उनीहरूको सहयात्रीका रूपमा उभिने बताए।
उनका अनुसार आर्थिक गतिविधिलाई सहज बनाउने क्रममा साना प्रकृतिका आर्थिक त्रुटिमा अब कैदभन्दा जरिवाना प्रणालीलाई प्राथमिकता दिइनेछ। यसले उद्योगी व्यवसायीलाई अनावश्यक कानुनी झन्झटबाट मुक्त गराउने विश्वास उनले व्यक्त गरे।
तर, उनले यससँगै निजी क्षेत्रबाट पनि इमान्दार र जिम्मेवार व्यवहारको अपेक्षा गरिएको उल्लेख गरे। नियोजित रूपमा आर्थिक बेइमानी गर्नेहरूप्रति भने सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी उनले दिए।
अर्थमन्त्री वाग्लेले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई मजबुत बनाउँदै समग्र आर्थिक विकासलाई तीव्र गतिमा अघि बढाउने लक्ष्य रहेको पनि बताएका छन्।
Advertisment