Below Menu
Below Menu

कस्तुरी फर्मास्युटिकल्सले गर्यो छ महिनामै साढे १२ करोडको व्यापार, १६ करोडको आईपीओ ल्याउँदै 

कस्तुरी फर्मास्युटिकल्सले गर्यो छ महिनामै साढे १२ करोडको व्यापार, १६ करोडको आईपीओ ल्याउँदै 

काठमाडौं : चितवनमा विगत १३ वर्षदेखि औषधि उत्पादन गर्दै आएको कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १२ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

सन् २०२५ मा कम्पनीले २५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसअघि सन् २०२४ मा कम्पनीले १९ करोड र सन् २०२३ मा २६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

सन् २०२६ को पहिलो छ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन ३१.७१ प्रतिशत पुगेको छ, जुन सन् २०२५ को १७.०९ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो।

सन् २०२४ मा भने यस्तो मार्जिन २९.८१ प्रतिशत रहेको थियो। कम्पनीका अनुसार बिक्री मात्रा बढे पनि केही अवस्थामा कम मूल्यमा उत्पादन बिक्री गर्नुपर्दा नाफा मार्जिनमा दबाब परेको थियो।

वित्तीय संरचनामा भने कम्पनीले पछिल्लो समय उल्लेखनीय सुधार गरेको छ। सन् २०२४ मा ४।८६ गुणासम्म पुगेको समग्र गियरिङ अनुपात सन् २०२५ मा घटेर १।५० गुणामा झरेको छ भने सन् २०२६ जनवरी मध्यसम्म आइपुग्दा ०.७९ गुणामा सीमित भएको छ। 

प्रवर्द्धकहरूबाट निरन्तर इक्विटी थपिँदै गएकाले कर्जाको अनुपात घट्न पुगेको कम्पनीले जनाएको छ। हाल कम्पनीसँग करिब २४ करोड रुपैयाँ बराबरको मात्रै कर्जा बाँकी रहेको छ।

त्यस्तै, कम्पनीको ऋण तिर्ने क्षमता र ब्याज तिर्ने क्षमतामा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा ब्याज कभरेज रेसियो ३.१६ गुणा पुगेको छ, जुन सन् २०२५ को १.६३ गुणाको तुलनामा दोब्बरभन्दा बढी हो।

कस्तुरी फार्मास्युटिकल्स लिमिटेडलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी पूर्ण रूपमा जोखिममुक्त नभए पनि हालको अवस्थामा सञ्चालन योग्य र वित्तीय रूपमा स्थिरतर्फ उन्मुख देखाएको छ । 

कस्तुरी फार्मास्युटिकल्सको सञ्चालक समितिमा लामो समयदेखि औषधि उद्योगमा कार्यरत व्यक्तिहरू संलग्न छन् । अध्यक्ष प्रबेक खनालसँग करिब २५ वर्षको अनुभव रहेको छ भने प्रबन्ध निर्देशक ईश्वर कुमार भण्डारीसँग पनि दुई दशकभन्दा बढीको अनुभव छ । 

कस्तुरी फार्मास्युटिकल्ससँग १२५ प्रकारका औषधिहरूको बजार अनुमति रहेको छ, जसमा ट्याब्लेट, क्याप्सुल, तरल औषधि तथा क्रीम, जेलजस्ता उत्पादनहरू समावेश छन्। कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार डब्लुएसओ–जीएमपी प्रमाणपत्र प्राप्त गरेको छ ।  साथै, थप ६० भन्दा बढी उत्पादनहरू बजार अनुमतिको प्रक्रियामा छन् ।

कम्पनीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ निष्काशनका लागि आवश्यक प्रक्रिया पूरा गरी चाँडै नियामक निकाय नेपाल धितोपत्र बोर्ड मा निवेदन दिने तयारी गरेको जनाएको  छ ।

भरतपुरको चितवनमा स्थापना भएको उक्त कम्पनीले विगत १३ वर्षदेखि औषधि उत्पादन गर्दै आएको छ । करिब एक विघा १० कट्ठा क्षेत्रफलमा फैलिएको उद्योगले उत्पादन गरेका औषधिहरू देशभरका बिक्री डिपोमार्फत बजारमा वितरण हुँदै आएका छन । 

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले संस्थापक शेयरधनीका लागि थप १४ करोड रुपैयाँ बराबरको शेयर जारी गरिरहेको छ। त्यसपछि सर्वसाधारणका लागि १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ जारी गर्ने योजना बनाइएको छ । आइपीओ निष्काशनपछि कम्पनीको कुल चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

आइपीओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकका रूपमा रिलायान्स क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।  

कम्पनीले विगतमा लिएको अधिकांश कर्जा भुक्तानी गरिसकेको र हाल करिब २४ करोड रुपैयाँ मात्रै कर्जा रहेको जानकारी दिएको छ।  कम्पनीले अघिल्ला वर्षहरूमा नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्दै आएको र आगामी दिनमा पनि लाभांश वितरण गर्ने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीका अनुसार २०८२ पुससम्म कम्पनीको प्रति शेयर नेटवर्थ १२९ रुपैयाँ ९३ पैसा रहेको छ भने सेबाेनको लागि आवश्यक वास्तविक नेटवर्थ ९२ रुपैयाँ ०५ पैसा रहेको छ।  चालु आर्थिक वर्षको अन्त्यसम्म वास्तविक नेटवर्थ ११२ रुपैयाँ ८१ पैसा पुग्ने अनुमान गरिएको कम्पनीले जनाएको छ ।
 

Advertisment