काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा चैत २९ र ३० गते हुँदैछ। साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्दैछ। निर्वाचनलाई लक्षित गर्दै वस्तुगत तर्फ उपाध्यक्ष नरेशलाल श्रेष्ठको नेतृत्वमा रहेको समूहले सोमबार औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको छ।
महासंघको नयाँ विधानअनुसार उक्त समूहले उपाध्यक्षसहित १७ सदस्यीय टिम सार्वजनिक गरेको हो । श्रेष्ठ नेतृत्वको समूहले वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फ उपाध्यक्षमा कमला श्रेष्ठलाई अघि सारेको छ ।
अन्य सदस्यहरूमा भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गाप्रसाद सुवेदी, निराजनबहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी रहेका छन्।
यसैबीच, वस्तुगत तर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार तथा स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले नेपालको पुँजी बजारलाई सुदृढ बनाउँदै समग्र अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।
ढकालका अनुसार हाल नेपालको पुँजी बजारमा ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध छन् भने बजारको कुल पूँजीकरण करिब ५० खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। उनले पुँजी बजारलाई केवल लगानीको क्षेत्र मात्र नभई अर्थतन्त्रको ऐना र चालक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
उनले आफू महासंघको केन्द्रीय कार्यसमितिमा पुगेमा उद्योगी-व्यवसायीका समस्या समाधानका लागि सरकारसँग नीतिगत तहमा सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘पुँजी बजार मात्र होइन, समग्र उद्योग-व्यवसाय क्षेत्रमा अहिले थुप्रै चुनौतीहरू छन्,’ उनले भने, ‘सरकारले ती समस्यामा अपेक्षित ध्यान दिन सकेको छैन। अब बन्ने नयाँ सरकारसँग व्यवसायीका माग सम्बोधन गराउन प्रभावकारी भूमिका खेल्ने मेरो उद्देश्य हो ।’
ढकालले पुँजी बजार सुधारका लागि कानुनी तथा नीतिगत परिमार्जन, आधुनिक वित्तीय उपकरणहरूको विस्तार, विशिष्टीकृत एक्सचेन्जको स्थापना, साना तथा मझौला उद्यमका लागि वैकल्पिक बजारको विकास र सामूहिक लगानीका नयाँ औजारहरू भित्र्याउने योजनालाई प्राथमिकतामा राखेका छन्।
करिब दुई वर्षदेखि पुँजी बजारमा सक्रिय ढकाल नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरममा सदस्य पनि हुन् । यसका साथै उनी उच्च अदालत पाठन बार एसोसिएसन, हिमालन ब्रोकरेज कम्पनी, जियो स्टोर प्रालि र हिमालयन भेञ्चर्स कम्पनीमा पनि आबद्ध रहेका छन् ।
यस्ता छन् ढकालका मुख्य एजेन्डाहरू
कानुनी तथा नीतिगत सुधारः धितोपत्र ऐन २०६३ र यस अन्तर्गतका नियमावलीहरुलाई बदलिँदो बजारको आवश्यकता अनुसार समयसापेक्ष परिवर्जन आवश्यकत्वकारी पहल गर्ने ।
नयाँ वित्तीय उपकरणहरूको विस्तारः मार्जिन ट्रेडिङ, इन्ट्रा–डे ट्रेडिङ, सर्ट सेलिङ र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरणहरु सञ्चालनमा ल्याउन धितोपत्र बोर्डसँग विशेष समन्वय गर्ने
विशिष्टीकृत एक्सचेन्जको स्थापनाः कमोडिटिज, फरेन करेन्सी, र बुलियन एक्सचेन्ज स्थापनाका लागि नियामक निकाय र लगानीकर्ताहरुबीच पुलको रुपमा नेतृत्वकारी भूमिका निर्वाह गर्ने ।
एसएमई र ओटीसी बजारको विकासः साना तथा मझौला व्यवसायहरुलाई पुँजी जुटाउन सहज मार्ग प्रशस्त गर्न एसएमई प्लाटफर्म ओटीसी मार्केटलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल गर्ने ।
सामूहिक लगानीका औजारहरूः सुरक्षित लगानीका लागि इटीएफ (एक्सचेञ्ज ट्रेडेड फण्ड) आरईआईटीएस (रियल स्टेट इन्भेष्टमेन्ट ट्रष्ट) जस्ता सामूहिक लगानीका उपकरणहरु बजारमा भित्र्याउन पहल गर्ने ।
Advertisment