नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँ: अर्थमन्त्री वाग्ले 

नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँ: अर्थमन्त्री वाग्ले 

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा स्थापित गर्ने लक्ष्यसहित अर्थतन्त्रलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Sponsored Advertisement

मंगलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको भेटमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्र र राज्यबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले देश निर्माणको उद्देश्य बोकेर आफूहरू अघि बढेको उल्लेख गर्दै उद्योगी–व्यवसायीलाई निडर भएर लगानी विस्तार गर्न आग्रह गरे।

उनका अनुसार इमानदार व्यवसायीहरू कानुनी जटिलताका कारण बदनाम हुने अवस्था अन्त्य गरिनेछ। राज्यले रोजगारी सिर्जना गर्ने उद्योगीलाई अनावश्यक दुःख नदिने स्पष्ट पार्दै उनले यसमा सरकारको पूर्ण सहयोग रहने विश्वास दिलाए। “तपाईंहरू इमानदार भएर काम गर्नुहोस्, राज्यले दिलोज्यान दिएर साथ दिन्छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति तथा सुधारका सुझाव दिन निजी क्षेत्रलाई आग्रह गर्दै सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले नियोजित त्रुटि र बेइमानीप्रति भने सरकार कठोर हुने चेतावनी पनि दिए।

त्यसैगरी, नेपाल अल्पविकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रको चिन्ता आफूले बुझेको उल्लेख गर्दै उनले तत्काल यस्तो निर्णय नहुने धारणा राखे।

उनले सरकार र निजी क्षेत्रबीच सहकार्य, पारदर्शिता र इमानदारीमार्फत अर्थतन्त्रलाई सबल बनाउँदै देशको सर्वाङ्गीण विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

थप समाचार