काठमाडौं : शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले सन् २०२५ मा २ अर्ब ४६ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५५.२५ प्रतिशतले बढी हो ।
कम्पनीले सन् २०२४ मा एक अर्ब ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा दुई अर्ब ५५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यद्यपी व्यापार बढेपनि कम्पनीको नाफा मार्जिन भने घटेको छ । सन् २०२४ मा ३१.४८ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा घटेर १७.७५ प्रतिशतमा झरेको छ ।
उत्पादन लागत वृद्धि र बजार प्रतिस्पर्धाको दबाबका कारण मार्जिन खुम्चिँदा कम्पनी अझै घाटामै सञ्चालन भईरहेको छ । तथापी कम्पनीको घाटा केही कम भएको छ । सन् २०२४ मा ७ करोड ९० लाख रुपैयाँ घाटामा रहेको कम्पनी सन् २०२५ मा ६ करोड ३० लाख रुपैयाँ घाटामा रहेको छ ।
तर, कम्पनीको नगद आम्दानीमा सुधार देखिएको छ । अघिल्लो वर्ष एक करोड ७० लाख रुपैयाँ रहेको नगद आम्दानी सन् २०२५ मा बढेर ८ करोड ५० लाख रुपैयाँ पुगेको छ । तथापी ऋण सेवा गर्ने क्षमतामा भने कम्पनी अझै पनि कम्पनी कमजोर रहेको छ । ब्याज तिर्ने क्षमता १.२३ गुणा मात्र रहेको छ ।
यद्यपि, प्रवद्र्धकहरूले गरेको ९६ करोड ९० लाख रुपैयाँको थप पूँजी लगानीले कम्पनीको पूँजी संरचना केही सुधारिएको छ र ऋण-पूँजी अनुपात घटेर २.०५ गुणामा आएको छ ।
कम्पनीसँग आफ्नै चुनढुंगा खानी, र क्लिङ्कर उत्पादन क्षमता रहेको छ । उद्योगसँग आफ्नै दुईवटा चुनढुङ्गा खानी छ । प्यूठानमा रहेको चुनढुङ्गा ८६ लाख टन र दाङमा रहेको चुनढुङ्गा ४३ लाख टन क्षमता छ । प्युठान र दाङमा रहेका खानीहरूले दीर्घकालीन रूपमा कच्चा पदार्थको सुनिश्चितता प्रदान गरेको छ ।
उद्योगको अध्यक्षमा कृष्णप्रसाद पोखरेल र प्रबन्ध सञ्चालकमा ताराप्रसाद पोखरेल छन् । कम्पनीमा अग्नि सिमेन्ट उद्योगको शतप्रतिशत लगानी रहेको छ ।
सन् २०१३ मा स्थापना भएको कम्पनी सन् २०२२ मा उद्योग पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । कम्पनीले सन् २०१७ देखि क्लिङकर उत्पादन र सन् २०१९ देखि ग्रान्डिङ युनिट सञ्चालनमा ल्याएको हो । उद्योगको क्लिङकर उत्पादन क्षमता दैनिक ७०० टन र सिमेन्ट उत्पादन क्षमता १२०० सय टन रहेको छ ।
कम्पनीले कुल बैंकिङ सुविधाका लागि ४ अर्ब ४७ करोड ११ लाख रुपैयाँको कर्जा रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जा बढेर करिब २ अर्ब ९३ करोड ९१ ला रुपैयाँ पुगेको छ भने अल्पकालीन कर्जा घटेर एक अर्ब ५३ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।
शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति माग गर्दै २०८२ असार २ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले दुई अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको दुई करोड २ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।
Advertisment