काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा झण्डै साढे १५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो।
राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।
फागुन महिनामा मात्र विप्रेषण आप्रवाह एक खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एब खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।
चालु आवको आठ महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख १७ हजार ०६८ र २ लाख १७ हजार४०३ रहेको थियो ।
Advertisment