कामठाडौं : नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तीकरणलाई समग्र राष्ट्रिय विकासको आधारसँग जोड्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महिलाको पहुँच केवल सामाजिक प्रतिष्ठामा सीमित नराखी आर्थिक तथा राजनीतिक नेतृत्वसम्म विस्तार गर्नु अपरिहार्य भएको बताइन्।
उनका अनुसार पछिल्लो समय नेपालमा महिला सशक्तीकरणमा उल्लेखनीय प्रगति भएको छ। महिलाहरूको सहभागिता सामाजिक क्षेत्रमा मात्र नभई आर्थिक गतिविधि र राजनीतिक निर्णय प्रक्रियाको केन्द्रसम्म पुगिसकेको छ।
विशेषगरी हालै सम्पन्न निर्वाचनले महिलाको पहुँच र प्रतिनिधित्व उच्च तहसम्म विस्तार भएको संकेत दिएको उनले उल्लेख गरिन्। उनले भनिन्, ‘जबसम्म महिलालाई आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा समान अवसर र नेतृत्वमा पहुँच सुनिश्चित हुँदैन, तबसम्म दिगो विकास सम्भव हुँदैन।’
अध्यक्ष श्रेष्ठले नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको विकाससँगै महिला सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्। संस्थाले नयाँ पुस्ताका महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्दै आत्मनिर्भर बन्ने वातावरण सिर्जना गरिरहेको उनको भनाइ थियो।
उनले हस्तकला, कृषि, पर्यटन, सूचना प्रविधि र नवप्रवर्तन जस्ता क्षेत्रमा महिलाहरूको सक्रियता बढ्दै गएको उल्लेख गर्दै यसले आर्थिक समृद्धि मात्र होइन, सामाजिक रूपान्तरणमा समेत सकारात्मक प्रभाव पारेको बताइन्।
यद्यपि उनले वर्तमान अवस्थामा केही चुनौतीहरू अझै कायम रहेको स्वीकार गरिन्। उद्योग, व्यापार र व्यवसायमा महिलाको सहभागिता बढ्दो क्रममा रहे पनि लगानीको वातावरण अपेक्षाकृत सहज हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरिन्।
नीतिगत अस्पष्टता, वित्तीय पहुँचको अभाव, प्रशासनिक जटिलता तथा लैङ्गिक विभेदका अवशेषहरू महिला उद्यमशीलताको मार्गमा अवरोधका रूपमा रहेको उनले औँल्याइन्।
७५ वर्षको यात्राले नेपाल चेम्बर अफ कमर्स को संस्थागत विकास मात्र नभई नेपालको निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिको इतिहास पनि उजागर गरेको उनले बताइन्।
यस अवसरमा ऐतिहासिक योगदान दिएका प्रेरणादायी महिला व्यक्तित्वहरूलाई सम्मान गरिएको उल्लेख गर्दै उनले उनीहरूलाई परिवर्तनका संवाहक र नयाँ पुस्ताका लागि मार्गदर्शकको रूपमा चित्रण गरिन्। उनीहरूको दृढ इच्छाशक्ति, परिश्रम र समर्पणले समाजको सोचमा समेत परिवर्तन ल्याएको उनको भनाइ थियो।
श्रेष्ठले महिला सशक्तीकरणलाई केवल नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याइन्। महिलालाई शिक्षा, सीप, वित्तीय पहुँच र नेतृत्व विकासका अवसरहरू उपलब्ध गराउनु अहिलेको मुख्य आवश्यकता भएको उनले बताइन्।
महिला चेम्बरले स्थापना कालदेखि नै उद्यमशीलता विकास, व्यवसाय प्रवर्द्धन, अन्तर्राष्ट्रिय नेटवर्किङ र बजार पहुँच विस्तारमा सक्रिय भूमिका खेल्दै आएको जानकारी पनि उनले दिइन्।
उनले हालैको राजनीतिक परिवर्तनले स्वदेशी तथा विदेशी लगानीकर्तामा विश्वास बढाएको र राजनीतिक स्थिरताले आर्थिक नीतिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरिन्।
यद्यपि बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी उपलब्ध हुँदाहुँदै पनि निजी क्षेत्रको मनोबल कमजोर रहनु चिन्ताको विषय भएको उनले बताइन्। यस पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न नीतिगत सुधार र लगानीमैत्री वातावरण आवश्यक रहेको उनको निष्कर्ष थियो।
Advertisment