Below Menu
Below Menu

आरएमसी ग्रुपको राजेश मेटल क्राफ्टले गर्यो छ महिनामा दुई अर्ब २० करोडको व्यापार 

आरएमसी ग्रुपको राजेश मेटल क्राफ्टले गर्यो छ महिनामा दुई अर्ब २० करोडको व्यापार 

काठमाडौं : स्टील पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको राजेश मेटल क्राफ्ट (आरएमसी) ले चालु आर्थिक वर्षको छ महिनामा २ अर्ब २० करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । 

कम्पनीले सन् २०२५ मा ५ अर्ब ४४ करोड ३० लाखरुपैयाँ, सन् २०२४ मा ४ अर्ब १० करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा ४ अर्ब ४६ करोड ८० लाख र सन् २०२२ मा कम्पनीले ८ अर्ब ५७ करोड ९० लाख रुपैयाँ बराबरको  निर्माण सामाग्रीको उत्पादन र व्यापार गरेको थियो । 

पछिल्ला केही वर्षदेखि कम्पनीको नाफा मार्जिनमा निरन्तर दबाब देखिएको छ । आर्थिक वर्ष २०२५ मा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको पहिलो छ महिनामाराजस्व पुनः घटेको छ । निर्माण क्षेत्रमा आएको सुस्तता, राजनीतिक अस्थिरता र बजारमा प्रतिस्पर्धा बढ्नुका कारण कम्पनीको आम्दानीमा असर परेको बताइएको छ ।

साथै, उत्पादनको मिश्रणमा आएको परिवर्तनले पनि नाफामा दबाब सिर्जना गरेको छ । पहिले उच्च नाफा दिने जस्ता शीट उत्पादन घटेर कम नाफा दिने पाइप उत्पादन बढेको देखिन्छ ।

यसैसँगै कम्पनीको ऋण सर्भिस कभरेज रेसियो १.३ गुणासम्म झरेको छ भने कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात उल्लेख्य रूपमा बढेको छ । यसले कम्पनीको ऋण तिर्ने क्षमता कमजोर हुँदै गएको देखिएको छ । 

राजेश मेटलको स्थापना सन् १९९३ मा भएको हो । सन् २०१६ मा उद्योग पब्लिक लिमिटेडबाट प्राइभेट लिमिटेडमा रुपान्तरण भएको हो । राजेश मेटलमा श्रवण अग्रवाल र उनका दुई छोराहरु (राजेश के अग्रवाल र विष्णु के अग्रवाल) को लगानी रहेको छ ।

उद्योगले स्टिल पाइप र सिटहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले हट रोल क्वाइल्सको आयात गरेर कोल्ड रोल क्वाइल्सको उत्पादन गर्छ । राजेश मेटलले कोल्ड रोलिङ मिलबाट तयारी वस्तुको उत्पादन गर्छ ।

उद्योगले कच्चा वस्तु भारतबाट आयात गर्दै आएको छ । आरएमसीको उत्पादन क्षमता वार्षिक २ लाख १२ हजार ७ सय ५० टन छ । यसमध्ये उद्योगले ५७ हजार टन ब्ल्याक एन्ड ग्याल्भनाइज्ड पाइप, ५७ हजार टन कलर सिट र १८ हजार टन कटसिट उत्पादन गर्छ ।

कम्पनीले दीर्घकालिन र अल्पकालिन बैकिङ कर्जा सुविधाका लागि ५ अर्ब २६ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ ।  

Advertisment