Below Menu
Below Menu

काठमाडौं महानगरद्वारा ६१ युवालाई युग सुहाउँदो तालिम

काठमाडौं महानगरद्वारा ६१ युवालाई युग सुहाउँदो तालिम

काठमाडौं : काठमाडौं महानगरपालिका-२७ ले नवयुवाको सीप अभिवृद्धि तथा रोजगारी उन्मुख बनाउने उद्देश्यले विभिन्न प्रविधिमैत्री तालिम सञ्चालन गरेको थियो।

‘ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, डेभप्स र एआइ फर एभ्रिवन’ विषयमा सञ्चालन गरिएको उक्त तालिमका सहभागीलाई शनिबार आयोजित समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो।

समापन समारोहलाई सम्बोधन गर्दै वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले वर्तमान समय प्रविधिको युग भएकाले युवालाई सोहीअनुसारको सीप प्रदान गर्न आवश्यक रहेको बताए । उनले वडाले तालिम प्रदान गरेर मात्रै नछाड्ने, तालिमप्राप्त युवाहरूलाई पुनः समेट्दै तालिमको प्रभावकारिता, व्यवहारिक उपयोगिता तथा आगामी आवश्यकताबारे छलफल गर्ने योजना रहेको समेत जानकारी दिए।

साथै, वडाले युवा मात्र नभई विभिन्न उमेर समूहका नागरिकलाई लक्षित गरी विविध तालिम सञ्चालन गर्दै आएको र कपाल काट्ने तालिमलाई सीटीईभीटी बाट मान्यता दिलाउने प्रयास भइरहेको खड्गीको भनाइ थियो।

वडा सदस्य तथा तालिम संयोजक सृष्टि कंसाकरले युवालाई प्रविधिमैत्री बनाउँदै व्यवहारिक सीपमार्फत रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । डिजिटल क्षेत्रमा प्रशस्त अवसर भए पनि तालिमको अभावले पहुँच कठिन हुने अवस्थालाई न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको उनको भनाइ थियो।

कार्यक्रममा ‘एआइ फर एभ्रिवन’ का प्रशिक्षक उदितकुमार महतोले स्थानीय सरकारले युवाको आवश्यकता पहिचान गरी सीपमूलक तालिम सञ्चालन गर्नु सकारात्मक पहल भएको उल्लेख गर्दै यसले नागरिकप्रति जनप्रतिनिधिको जवाफदेहिता झल्काउने बताए।

तालिमका सहभागीहरू बरदा तुलाधर, दीपा पण्डित र अदिश्री श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान तथा अनुभव उपयोगी भएको बताउँदै आफ्नो रुचिअनुसारको तालिम उपलब्ध गराएकोमा वडा कार्यालयप्रति आभार व्यक्त गरेका थिए।

वडाका अनुसार ग्राफिक डिजाइनमा १६ जना, डिजिटल मार्केटिङमा २१ जना, एआइ फर एभ्रिवनमा १८ जना र डेभप्समा ६ जना गरी कुल ६१ जनाले तालिम लिएका थिए । समापन कार्यक्रममा वडा सदस्यहरू दिनेश श्रेष्ठ, धर्म प्रजापति, प्रभा श्रेष्ठलगायत प्रशिक्षार्थीका अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो।

Advertisment

थप समाचार