काठमाडौं : नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले इजाजतपत्र नवीकरण नगरेका दुई मनिचेञ्जर कम्पनीहरूको इजाजतपत्र रद्द गरेको जनाएको छ। बैंकले चैत २० गते एक सूचना जारी गर्दै अमृत लक्ष्मी मनि चेन्जर प्रालि र सुपर फाइन मनि चेन्जर प्रालिको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो।
बैंकका अनुसार मनिचेञ्जर कारोबार गर्न अनुमति प्राप्त कम्पनीहरूले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) बमोजिम तोकिएको समयसीमा भित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ।
तर म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगरेका कारण सम्बन्धित कम्पनीहरूको इजाजतपत्र रद्द गरिएको बैंकले स्पष्ट पारेको छ। दुवै कम्पनी विराटनगर महानगरपालिका–१५, मोरङ मा सञ्चालनमा रहेका थिए।
नेपाल राष्ट्र बैंकले सबै सरोकारवालाहरूलाई उक्त निर्णयबारे जानकारी गराउँदै विनियमावली अनुसार समयमै नवीकरण प्रक्रिया पूरा गर्न सम्बन्धित निकाय तथा व्यवसायीहरूलाई आग्रह गरेको छ।
Advertisment