काठमाडौं : सरकारले दिगो र समावेशी वित्त प्रणालीको विकास तथा डिजिटल पूर्वाधार सुदृढीकरणका लागि ठूलो परिमाणमा वैदेशिक सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंक तथा एसियाली विकास बैंकबाट प्राप्त हुने कुल १८५ मिलियन अमेरिकी डलर (करिब साढे २७ अर्ब रुपैयाँ) बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारले दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणका रूपमा स्वीकार गर्ने निर्णय गरेको हो।
त्यस्तै, डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट थप ५० मिलियन अमेरिकी डलर थप सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो।
यससँगै, पेट्रोलियम आपूर्तिलाई सहज बनाउने उद्देश्यले सरकारले अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ। चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
उनले भने, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय विहान ९ देखि ५ बजे कायम गर्ने निर्णय गरेको छ ।’
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु
१. अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टको लागि क्रमश एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
२. दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
३. नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तरगतका निकायहरुको संगठन तथा व्यवस्थापन संरक्षण गर्न पूर्व स्वकृति दिने ।
४. राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्री धमेन्द्र झाले दिएको राजीनामा स्वकृति गर्ने ।
५. पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय समय ९ देखि ५ बजे कायम गर्ने ।
६. डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।
७.आगामी शैक्षिक सत्र २०८३ बैसाख १५ गतेबाट सुरु गर्ने ।
Advertisment