Below Menu
Below Menu

हुलाकलाई आधुनिक बनाउँदै सरकार, विमानस्थलमा छुट्टै जाँचपास र द्रुतमार्गबाट कुरियर सेवा सुरु

हुलाकलाई आधुनिक बनाउँदै सरकार, विमानस्थलमा छुट्टै जाँचपास र द्रुतमार्गबाट कुरियर सेवा सुरु

काठमाडौं : हुलाकमार्फत प्रदान गरिने कुरियर सेवामा सुधार गर्दै सरकारले अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोग गर्ने व्यवस्था लागू गरेको छ। साथै, सार्वजनिक बिदाका दिनसमेत हुलाक सेवा सञ्चालन हुने गरी नयाँ व्यवस्था सुरु गरिएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न सम्बन्धित निकायहरूसँग समन्वय गरी वस्तु आयात–निर्यात प्रक्रियालाई छिटो, सुरक्षित र व्यवस्थित बनाउने पहल अघि बढाएको हो। 

यससँगै विदेश पठाइने तथा विदेशबाट आउने सामानको जाँचपास प्रक्रिया अब अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

यो प्रणाली हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल नागरिक उड्डयन प्राधिकरण बीचको समन्वयमा कार्यान्वयन गरिएको हो। विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले लामो समयको प्रयासपछि मन्त्रालयको निर्देशनमा यो सुधार सम्भव भएको बताइन्।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा हुलाक कुरियरका लागि छुट्टै ‘डेडिकेटेड’ जाँचपास प्रणाली स्थापना गरिने भएको छ । 

यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार बिदाका दिन खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवाग्राहीले पूर्ण सेवा लिन पाउँदैनथे। नयाँ व्यवस्थासँगै ती सबै निकायबीच समन्वय हुने भएकाले अब बिदाको दिन पनि विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने सेवा सहज रूपमा उपलब्ध हुने भएको छ।

अन्तरनिकाय समन्वय अभावका कारण सेवामा देखिएको समस्यापछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चासो दिँदै सुधार प्रक्रिया अघि बढाएको हो। 

पछिल्लो तथ्यांकअनुसार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी विभिन्न प्रकारका पत्र तथा पार्सल विदेशबाट आएका थिए भने करिब ११ हजार ७ सय वस्तु निर्यात भएका थिए।

पछिल्ला दिनमा हुलाकमार्फत कुरियर सेवाको माग उल्लेख्य रूपमा बढ्दै गएको छ। द्रुतमार्ग प्रयोग र सार्वजनिक बिदामा समेत सेवा सञ्चालनले सेवाको गुणस्तर सुधार हुनुका साथै व्यवसाय विस्तार र राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ।

Advertisment