Below Menu
Below Menu

निजी क्षेत्र र सांसदबीच नीति संवादः आर्थिक समृद्धि र लगानीमैत्री वातावरणका लागि सहकार्यको प्रतिबद्धता

निजी क्षेत्र र सांसदबीच नीति संवादः आर्थिक समृद्धि र लगानीमैत्री वातावरणका लागि सहकार्यको प्रतिबद्धता

ललितपुर : हालै सम्पन्न निर्वाचनपछि नयाँ संसद र सरकार गठन भएको परिस्थितिमा आर्थिक विकास,  लगानीमैत्री वातावरण र रोजगारी सृजना लगायत बिषयमा केन्द्रित रहेर निजी क्षेत्र र प्रतिनिधिसभाका सदस्यहरुबीच ललितपुरमा नीति संवाद आयोजना गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सन्दर्भमा आयोजित नीति संवादमा प्रतिनिधिसभाका सदस्य र निजी क्षेत्रका प्रतिनिधिहरुले आपसी सहकार्य गरी आर्थिक विकास, समृद्धि र लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत स्थायित्वमा जोड दिएका छन् ।

सो क्रममा प्रतिनिधिसभाका सदस्यहरुले मुुलुकको समृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको योगदानको चर्चा गर्दै यस क्षेत्रको समस्या र भोगिरहेको चुनौती सम्वोधनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश पराजुलीले निजी क्षेत्रसँग सहकार्यका लागि आफूहरु प्रतिवद्ध रहेको बताए । कानून निर्माण र नीतिगत व्यवस्थाका लागि संसद र यसका समितिबाट गर्नुपर्ने जिम्मेवारी पुरा गरिने उनको भनाइ थियो । आफूहरु आम जनताको व्यापक समर्थनसहित सरकारमा पुगेको चर्चा गर्दै सांसद पराजुलीले युवा पुस्ताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक भएको बताए । 

नेपाली कंग्रेसका सांसद नरेन्द्रराज केरुङले देशको अर्थतन्त्रलाई सबल तुल्याउन निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । निजी क्षेत्रको पूँजीलाई मुुलुकको विकासमा सदुपयोगका लागि प्रोत्साहित गर्नुपर्ने बताए । नीतिगत स्थायित्वलाई सरकारले ध्यान दिनुपर्ने र प्रतिपक्षी दलको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता उनले जनाए । 

नेकपा एमालेका सांसद गुरु बरालले समग्र उद्यमी व्यवसायीको समस्या समाधानका लागि सहजीकरण गर्न आफूहरु तयार रहेको बताए । सरकारले निजी क्षेत्रलाई त्रसित गर्नुको साटो जवाफदेही व्यवहार गर्नुपर्ने उनको भनाइ थियो ।

संवाद कार्यक्रमका बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले गत निर्वाचनमा सबैजसो दलले आफ्नो घोषणापत्रमा निजी क्षेत्रको बिषयलाई प्राथमिकता दिएकोमा आभार प्रकट गरे । 

निजी क्षेत्र बोझिलो कर र नीतिगत अस्थिरताबाट पीडित भइरहेको भन्दै त्यसलाई अन्त्य गर्न संसदको तर्फबाट भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरे । जेन जी आन्दोलनपछि मुलुकमा भएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आफूहरु सरकार र संसदसँग सहकार्यका लागि तयार रहेको बताए । 

निजी क्षेत्र र व्यवसायबाट हुने नाफालाई गलत दृष्टिकोणबाट हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो । संवाद कार्यक्रमका आयोजक एवम् महासंघका कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरेले नयाँ सरकार र निजी क्षेत्र मिलेर आर्थिक क्रान्ति गर्नुृपर्ने बेला आएको बताए । 

महासंघका स्थल यातायात तथा पारवहन समितिका सभापति समेत रहेका घिमिरेले करको दर भन्दा पनि दायरा बढाउनुपर्ने आग्रह गरे । निजी क्षेत्रले सुशासन र लगानीमैत्री ऐन कानून चाहेको भन्दै उनले सरकार र संसदबाट सहयोगको खाँचो रहेको बताए । 

नीति संवाद कार्यक्रममा रास्वपाका मनिष झा, विदूषी राना, नितिमा कार्की, शुलभ खरेल, सुनिल खड्का, प्रकाशचन्द्र परियार लगायत सांसद सहभागी भएका थिए। त्यस्तै, महासंघ अन्तर्गतका वस्तुगत संघका ५० भन्दा बढी प्रतिनिधिहरुले आफ्ना धारणा व्यक्त गरेका थिए। 

कार्यक्रममा महिला उद्यमी एवम नेपाल कृषि मेसिनरी संघकी उपाध्यक्ष सुनिता नेमाफुकीले नीति संवाद आयोजना गर्नुको औचित्य र महत्वबारे चर्चा गरेकी थिइन् । 

Advertisment