काठमाडौं : पछिल्लो आर्थिक वर्षमा श्री कृष्ण आयल रिफाइनरी एण्ड भेजिटेबल घिउ इन्डस्ट्रिज प्रालिको व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । आर्थिक वर्ष २०२५ मा कम्पनीले ४ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४६१ प्रतिशतले बढी हो ।
सन् २०२४ मा कम्पनीले ७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा कम्पनीले ३ अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको थियो ।
विशेषगरी भारततर्फ निर्यात बढ्नुका साथै बजारमा माग पनि बढेका कारण कम्पनीको व्यापारमा चार गुणाको रिबाउन्ड भएको रिपोर्टमा उल्लेख छ । चालु आर्थिक वर्षको छ महिनामै कम्पनीले २ अर्ब ५९ करोड २० लाखको कारोबार गरिसकेको छ ।
अघिल्ला दुई वर्ष घाटामा रहेको कम्पनीले सन् २०२५ वर्ष १० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । साथै ब्याज, कर, मूल्यह्रास, र परिशोधन अघिको आम्दानी (एबिटा) मार्जिन बढेर ३७ करोड रुपैयाँ पुगेको छ । जुन सन् २०२४ मा यस्तो मार्जिन ८ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
यद्यपि, कम्पनीको सञ्चालन नाफा मार्जिन भने केही घटेको छ । आर्थिक वर्ष २०२४ मा १२.१३ प्रतिशत रहेको यस्तो मार्जिन २०२५ मा घटेर ९.१९ प्रतिशतमा झरेको छ भने चालू आर्थिक वर्षको ६ महिनामा ५.९५ प्रतिशत कायम छ ।
कम्पनीको वित्तीय अवस्था दबाबमा रहेको रिपोर्टमा उल्लेख छ । सन् २०२५ मा कम्पनीको कुल कर्जा करिब २ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ भने गियरिङ अनुपात ७.४२ गुणा रहेको छ । चालु आर्थिक वर्षको छ महिनामा यो अनुपात झनै बढेर ८.८६ गुणासम्म पुगेको छ ।
यस्तै, कम्पनीको सञ्चालन चक्र अझै लामो रहेकाले कार्यशील पूँजीमा ठूलो दबाब परेको देखिन्छ । यद्यपि अघिल्लो वर्षको ५८० दिनबाट घटेर १७० दिनमा झरेको छ ।
रेटिङ एजेन्सीले कम्पनीलाई दीर्घकालीन कर्जातर्फ ‘बीबी माइनस’ र अल्पकालीन कर्जातर्फ ‘एफोर’ रेटिङ प्रदान गरेको छ । कम्पनीको कुल बैंकिङ सुविधा करिब ४ अर्ब ८३ करोड १८ लाख रुपैयाँ रहेको छ । जसमा दीर्घकालीन कर्जा एक अर्ब १५ करोड १८ लाख रुपैयाँ र अल्पकालीन कर्जा ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । यी मध्ये अधिकांश रकम पहिले नै प्रयोगमा रहेको कर्जा हो भने केही नयाँ लगानी प्रस्ताव गरिएको छ ।
एचपी अग्रवाल समूहअन्तर्गत सञ्चालित यस कम्पनीले हेल्थ, सोयालाइट, सनलाइट तोरीगोल्ड, डायमण्ड र नित्याफ्रेस जस्ता ब्रान्डमार्फत आन्तरिक बजारसँगै भारतमा समेत राम्रो उपस्थिति बनाएको छ ।
विशेषगरी भारततर्फको निर्यातले कम्पनीको आम्दानीमा महत्वपूर्ण योगदान दिएको । आर्थिक वर्ष २०२५ मा कुल आम्दानीको ८७ प्रतिशत हिस्सा निर्यातबाट आएको थियो भने चालु आवको छ महिनामा यो हिस्सा ८१ प्रतिशत रहेको छ ।
भारत बाहेक अर्जेन्टिना, ब्राजिल, अष्ट्रेलिया, सिंगापुर, स्विजरल्याण्ड, इन्डोनेसिया, मलेसिया, युक्रेन र नेदरल्याण्ड जस्ता देशमा पनि कम्पनीका उत्पादन निर्यात भइरहेका छन् । बाराको सिमरामा अवस्थित उद्योगको भौगोलिक अवस्थालाई कम्पनीको महत्वपूर्ण बलियो पक्षका रूपमा लिइन्छ ।
सिमरामा रहेको कारखाना वीरगञ्ज नाका नजिक भएकाले कच्चा पदार्थ आयात र तयार वस्तु निर्यात दुवैका लागि ढुवानी लागत कम गर्न मद्दत पुगेको छ । तर, कम्पनीको व्यवसाय कच्चा पदार्थमा उच्च निर्भर भएकोले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव, विदेशी मुद्रा विनिमय दरको जोखिम र कृषि उत्पादनको मौसमी प्रकृतिले नाफामा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
कच्चा तेल आयातमा पूर्ण निर्भरता भएकाले कतिपय अवस्थामा कच्चा पदार्थ लागत १०० प्रतिशतभन्दा माथिसम्म पुगेको उल्लेख गरिएको छ । साथै, भारतले हालै कच्चा खानेतेलमा आयात शुल्क घटाएको कारण प्रतिस्पर्धा बढ्ने सम्भावना रहेको छ । जसले कम्पनीको निर्यात आम्दानीमा दबाब पार्न सक्छ । कम्पनीको नेतृत्व अनुभवी उद्योगपति मनोज कुमार अग्रवाल ले गरिरहेका छन् ।
Advertisment