Below Menu
Below Menu

चोरी पैठारी केवल आर्थिक समस्या होइन, गम्भीर नेक्सस होः सांसद राणा 

चोरी पैठारी केवल आर्थिक समस्या होइन, गम्भीर नेक्सस होः सांसद राणा 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपालका उद्योग र अर्थतन्त्रमा वर्तमान चुनौतीबारे सदनमा गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले उद्योग सञ्चालनमा अवरोध पुर्याउने मुख्य कारणको रूपमा चोरी पैठारीलाई औंल्याइन्।

सांसद राणाका अनुसार, खुला सिमानाबाट दैनिक अरबौँ रुपैयाँको अवैध सामान बिना कर, बिना कागजात र बिना नियन्त्रण नेपाल भित्रिरहेको छ। यसले कानुनी उद्योगलाई मर्दै लगाएको र बजार केही बिचौलियाको नियन्त्रणमा पुगेको छ। “यो केवल आर्थिक समस्या होइन, गम्भीर नेक्ससको मामला हो,” उनले भनिन्।

सांसद राणाले उद्योगीले आज दुई युद्ध लडिरहेको बताइन् । “एक अनधिकृत व्यापार र अर्को चोरी पैठारीसँग। नियम पाल्ने उद्योगी कर तिर्छन्, प्रक्रिया पूरा गर्छन्, तर नियम नमान्नेहरूले सस्तोमा बजार कब्जा गर्छन्। उनका अनुसार, यसले कमजोर अर्थतन्त्र, घट्दो रोजगारी र विदेशिने युवाको संख्या बढाइरहेको छ।”, उनले भनिन् । 

उनले कडा कदमको आवश्यकता औंल्याउँदै भनिन्, “चोरी पैठारी रोक्न केवल नारा होइन, सशक्त अनुगमन र स्पष्ट जिम्मेवारी आवश्यक छ। अनुगमन कागजमा होइन, ग्राउन्डमा देखिनुपर्छ। परिणाम अनिवार्य हुनुपर्छ।”

सांसद राणाले अर्थमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै भनिन्, “यदि तत्काल कदम नचालिए, उद्योगको बचेको हिस्सा पनि प्रतिस्पर्धा गर्न नसक्नेछ। तर यदि उचित कदम चालियो भने, राष्ट्र बलियो हुन्छ र युवा आफ्नै देशमा भविष्य देख्न सक्नेछन्।”

उनले संसदलाई सम्झाउँदै भने, “इतिहास हेर्दैछ, हामी निर्णय गर्ने पुस्ता हौँ। अब केवल कुरा गर्ने समय होइन, कार्यवाही गर्ने र परिणाम दिने समय हो।”

Advertisment