काठमाडौं : नेपाल धितोपत्र बोर्डले चैत २३ गते बसेको बोर्ड बैठकमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ। उक्त मापदण्ड २०८३ बैशाख १ गतेदेखि लागू हुने भएको छ।
बोर्डले निर्णय गरेको अनुसार अब सार्वजनिक निष्काशनका लागि आवेदन दिने सबै संगठित संस्थाले पेश गरेको आर्थिक विवरण र वित्तीय प्रतिवेदन आवश्यक अनुसार लेखा विशेषज्ञमार्फत पुनरावलोकन वा जाँचबुझ गराउनुपर्ने व्यवस्था गरिएको छ।
मापदण्ड अनुसार, प्रारम्भिक सार्वजनिक निष्काशनका लागि आवेदन दिने संस्थाले विगत तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण विवरण, र अन्तरिम अवधिको प्रमाणित अपरिष्कृत वित्तीय विवरण पेश गर्नुपर्नेछ।
यदि संस्थाको विक्री आम्दानीको ७५ प्रतिशत भन्दा बढी रकम व्यापारिक प्राप्य वा अन्य शीर्षकमा रहेको छ, वा कर, महसुल लगायतको सम्भावित दायित्वले कम्पनीको नेटवर्थ वा खुद नाफामा असर गर्ने स्थिति देखिन्छ भने वित्तीय विवरणको पुनरावलोकन वा जाँचबुझ आवश्यक पर्नेछ ।
यस्तै, तीन वर्षको औसत व्यापारिक आम्दानीको ३० प्रतिशत भन्दा बढी कारोबार सम्बद्ध व्यक्तिसँग भएको वा लेखा नीतिमा असामान्य परिवर्तन भएमा पनि पुनरावलोकन अनिवार्य छ।
उत्पादनमूलक र प्रशोधन उद्योग, होटल तथा पर्यटन, जलविद्युत र ऊर्जा परियोजना, तथा लगानी कम्पनीहरूको लागि फरक-फरक प्रावधानहरू राखिएको छ। उत्पादनमूलक उद्योगमा यदि पछिल्लो आर्थिक वर्षको विक्री आम्दानीको ७५ प्रतिशत भन्दा बढी व्यापारिक प्राप्य रकममा रहेको छ भने पुनरावलोकन अनिवार्य हुनेछ।
वित्तीय विवरण पुनरावलोकन गर्ने लेखा विशेषज्ञले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट प्रमाणपत्र प्राप्त चार्टर्ड एकाउन्टेन्ट हुनुपर्नेछ भने कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । फरेन्सिक अकाउन्टिङ्ग र फ्रड डिटेक्सनमा प्रशिक्षण प्राप्त ५ वर्ष अनुभव भएको चार्टर्ड एकाउन्टेन्ट पनि योग्य मानिनेछ।
लेखाविशेषज्ञले सम्बन्धित संस्थासँग विगत तीन वर्षमा कुनै वित्तीय परामर्श सेवा नदिएको हुनुपर्नेछ र संस्थासँग स्वार्थको द्वन्द्व नभएको स्वघोषण गर्नुपर्नेछ।
लेखाविशेषज्ञले संस्थाको वित्तीय विवरणको विश्लेषण गर्ने, असामान्य कारोबार, लेखा नीति परिवर्तन, कम्पनीको स्थायित्व, व्यवसायिक निरन्तरता (गोइङ कन्सर्न) मा असर पर्ने सम्भावित दायित्वको मूल्याङ्कन गर्ने, र प्रक्षेपित वित्तीय विवरणको समीक्षा गर्नेछन्।
साथै, सार्वजनिक निष्काशनको लागि आवश्यक थप विवरण वा कागजातहरू आवश्यक परेमा त्यसको पनि विश्लेषण गर्नुपर्नेछ।
धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकले बोर्डमा निवेदन पेश गर्दा ड्यु डिलिजेन्स प्रमाणपत्रका साथ संस्थाको वित्तीय विवरण पुनरावलोकनको जानकारी दिनुपर्नेछ।
बोर्डको स्वीकृतिमा आधारित लेखाविशेषज्ञ नियुक्ति गरिनेछ। लेखाविशेषज्ञले ३० दिन भित्र प्रतिवेदन बोर्डमा पेश गर्नुपर्नेछ, र आवश्यक परेमा थप १० दिनको समय प्राप्त गर्न सकिनेछ।






Advertisment