Below Menu
Below Menu

निजी क्षेत्र कर तिर्ने निकाय मात्र होइन, राष्ट्र निर्माणको साझेदार हो: राष्ट्रपति पौडेल

निजी क्षेत्र कर तिर्ने निकाय मात्र होइन, राष्ट्र निर्माणको साझेदार हो: राष्ट्रपति पौडेल

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती वर्षको यस महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यो समारोह केवल एउटा संस्थाको उत्सव मात्र होइन यो नेपालका निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिको क्षण हो । यस अवसरमा म चेम्बरका पदाधिकारी, सदस्य, सुभेच्छुक र सम्पूर्ण उद्यमी व्यवसायीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवर्धन, लगानी मैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो यस संस्थाले निरन्तर दिएको योगदान प्रशंसनीय छ । नेपाल चेम्बर अफ कमर्सले सरकार, सरोकारवाला निकाय, कुटनैतिक नियोग तथा विकास साझेदारहरुसँग गर्दै आएको सहकार्य र खेलेको भूमिका सराहनीय छ ।

नीति निर्माणमा वस्तुपरक विश्लेषण, अर्थतन्त्रका चुनौतीहरुमा स्पष्ट धारणा र व्यवहारिक सुझावहरु प्रदान गर्दै यस संस्थाले आफ्नो भूमिका प्रभावकारी बनाउँदै लगेको छ । कोभिड महामारीको प्रभाव, आपूर्ति श्रृंखलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा आएको गिरावट र त्यसपछिको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले अर्थतन्त्रलाई प्रभाव पारेको छ । यस्तो अवस्थामा निजी क्षेत्र र सरकार बीचको सहकार्य अझै सुदृढ हुन आवश्यक छ ।

राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार हो । स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्छ । आजको युवा पुस्ता देशको भविष्य हो । उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सके मात्र हामी ब्रेन ड्रेन रोक्न सक्छौँ । उद्यमशीलता, प्रविधि र सृजनशीलताको माध्यमबाट युवाहरूलाई आर्थिक गतिविधिमा जोड्नु आजको आवश्यकता हो ।

मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूर्वक सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनले जननिर्वाचित संसद र सरकारलाई सुशासन मार्फत आर्थिक समृद्धि र चुस्त सेवा प्रवाह गरी जनताको जीवनस्तर उकास्न एउटा गहन दायित्व सुम्पेको छ । राज्यको यो दायित्व पूरा गर्न निजी क्षेत्रको पनि त्यत्तिकै भूमिका हुन्छ ।

त्यस्तै निजी क्षेत्रलाई विकासको यो अभियान साथमा लिएर सरकारले अघि बढ्न जरुरी छ भन्ने म ठान्दछु । व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै हाम्रो आर्थिक समृद्धिको मूल आधार हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ बनाउन जनताले चाहेको आर्थिक समृद्धि तर्फ जुट्न यो अवसरमा म सबैलाई आह्वान गर्दछु ।

हामी सबैले मिलेर स्थिर, पारदर्शी र उत्तरदायी शासन प्रणालीको निर्माणमा ध्यान दिनु आवश्यक छ । संघ, प्रदेश र स्थानीय तह बीचको समन्वयलाई सुदृढ बनाउँदै समग्र विकास प्रक्रियालाई गति दिनु पर्छ ।

आजको विश्व प्रतिस्पर्धात्मक अर्थतन्त्रको युगमा हामीलाई परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णयहरू आवश्यक छन् । डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास आजको आवश्यकता हो ।

हामीले भुल्न नहुने एउटा महत्त्वपूर्ण कुरा के हो भने निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ । निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ ।

निजी क्षेत्र केवल आर्थिक वृद्धिको आधार मात्र होइन यो देशको आर्थिक इन्जिन हो भन्ने म ठान्दछु । यस मार्फत आगामी दिनमा तपाईँहरूले अझ सशक्त र प्रभावकारी ढङ्गले आफ्ना क्रियाकलाप अगाडि बढाउनुहुनेछ भन्ने विश्वासका साथ पुनः हीरक जयन्ती कार्यक्रमको सफलताका साथै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । (राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा राखेको मन्तव्य) 
 

Advertisment

थप समाचार