काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले देशको आर्थिक संरचना निर्माणमा चेम्बरले महत्वपूर्ण भूमिका खेलेको उनले बताएका छन् । चेम्बरको हिरक जयन्ती (७५औँ वार्षिकोत्सव) का अवसरमा उनले यस्तो बताएका हुन् ।
उनका अनुसार चेम्बरको ७५ वर्षको यात्रा केवल समयको गणना नभई संघर्ष, समर्पण, निरन्तरता र परिवर्तनको जीवित इतिहास हो हो । यस अवधिमा चेम्बरले उद्योग, व्यापार, सेवा, लगानी, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनजस्ता क्षेत्रमा संस्थाको योगदान उल्लेखनीय रहेको उनको भनाइ छ।
साथै, यस यात्रामा योगदान पुर्याउने सम्पूर्ण अग्रज उद्यमी र नेतृत्वकर्ताप्रति उनले सम्मान व्यक्त गरे। उनले वर्तमान विश्व तीव्र प्रतिस्पर्धात्मक बनेको उल्लेख गर्दै परम्परागत सोच र कार्यशैलीबाट अघि बढ्न नसकिने स्पष्ट पारे।
समयअनुसार नवप्रवर्तन, डिजिटल रूपान्तरण र दिगो विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनले जोड दिए। नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्न स्टार्टअप संस्कृतिको विकास तथा प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको धारणा छ।
मल्होत्राले नेपालको दिगो आर्थिक विकासका लागि स्पष्ट कानुनी व्यवस्था, आधुनिक पूर्वाधार, सुलभ वित्तीय पहुँच, दक्ष जनशक्ति तथा पारस्परिक विश्वासको वातावरण अनिवार्य रहेको बताए।
आत्मनिर्भर, समावेशी र दिगो अर्थतन्त्र निर्माणतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले कृषिमा आधुनिकीकरण, उद्योगमा विविधीकरण, पर्यटन विस्तार र सूचना प्रविधिमा लगानी वृद्धि अपरिहार्य भएको उल्लेख गरे।
यसका साथै, अन्तर्राष्ट्रिय व्यापार विस्तार, निर्यात प्रवर्द्धन र विदेशी लगानी आकर्षणका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। हालै सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय बहुमत प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै उनले यसलाई राजनीतिक स्थायित्वतर्फको संकेतका रूपमा लिएको बताए।
नयाँ सरकारप्रति निजी क्षेत्र आशावादी रहेको र सरकारसँग सहकार्य गर्दै आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
Advertisment