Below Menu
Below Menu

सौराहामा असारदेखि सञ्चालनमा आउँदै डेढ अर्बको ‘रोयल टुलिप’, साढे १५ करोडको आईपीओ ल्याउँदै

सौराहामा असारदेखि सञ्चालनमा आउँदै डेढ अर्बको ‘रोयल टुलिप’, साढे १५ करोडको आईपीओ ल्याउँदै

काठमाडौं : सौराहामा अन्तर्राष्ट्रिय ब्राण्डको नयाँ पाँच तारे लक्जरी रिसोर्ट सञ्चालनको अन्तिम तयारीमा रहेको छ । केटीएम हस्पिटालिटीले निर्माण गरेको यो रिसोर्ट ‘रोयल टुलिप’ ब्राण्डमा सञ्चालन हुन लागेको हो । 

कम्पनीले आफ्नो पुँजी संरचना विस्तार र सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रियालाई समेत अगाडि बढाएको छ ।  गत पुस ३० गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारण सभाले १५ करोड ५० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
 
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभाले सर्वसाधारणका लागि कुल चुक्ता पुँजीको २० प्रतिशत शेयर जारी गर्ने निर्णय गरेको हो । यससँगै कम्पनीको अधिकृत पुँजी एक अर्ब रुपैयाँ, जारी पुँजी ७७ करोड ५० लाख रुपैयाँ र चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहनेछ ।

परियोजनाको वित्तीय जोखिम र क्षमतालाई विश्लेषण गर्दै केयर रेटिङ्स नेपालले कम्पनीलाई हालै क्रेडिट रेटिङ प्रदान गरेको छ । एजेन्सीले कम्पनीको दीर्घकालीन बैंक कर्जाका लागि डबल बी माइनस र अल्पकालीन सुविधाका लागि एफोर रेटिङ दिएको हो । 

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब २७ करोड ६२ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लािग एक अर्ब २३ करोड ६२ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि चार करोड रुपैयाँको कर्जा रेटिङ गराएको हो । 

निर्माणाधिन रिसोर्ट करिब ४.१२ एकड क्षेत्रफलमा फैलिएको छ । यस रिसोर्टमा ६५ वटा आधुनिक र सुविधायुक्त कोठाहरू रहेका छन् । परियोजनाको कुल लागत एक अर्ब ७४ करोड ९० लाख रुपैयाँ अनुमान गरिएको छ । रिसोर्टको व्यवस्थापन भने फ्रान्सेली होटल चेन ‘लुभ्र होटल्स ग्रुप’ अन्तर्गतको सरोवर होटल्स प्राइभेट लिमिटेडले सम्हाल्नेछ ।

यद्यपी होटलको निर्माण कार्य प्रायः सम्पन्न भइसकेको भए तापनि पूर्ण रुपमा सञ्चालनमा आउन केही ढिलाई भएको छ । पछिल्लो समय देखिएको जेनजी तथा बजारमा देखिएको अनिश्चितताका कारण पूर्ण सञ्चालनमा केही ढिलाइ भएको कम्पनीले जनाएको छ ।

कम्पनीले अब भने आगामी २०८२ असार अन्त्य (जुलाई २०२६) देखि रिसोर्टलाई पूर्ण क्षमतामा सञ्चालन ल्याउने जनाएकाे छ ।

कम्पनीको नेतृत्व कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले गरिरहेका छन् । भौगोलिक रूपमा पनि यो रिसोर्ट राप्ती नदी, चितवन राष्ट्रिय निकुञ्ज र कुमरोज सामुदायिक वनको काखमा अवस्थित छ । सौराहा चितवन भ्रमणको मुख्य प्रवेशद्वार र निकुञ्ज सफारीको केन्द्र भएकाले आन्तरिक र बाह्य पर्यटकलाई सहजै आकर्षित गर्ने निश्चित छ ।

सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई ‘पर्यटन दशक’ घोषणा गरी होटल क्षेत्रमा दिँदै आएको कर छुट र सहुलियतले नयाँ परियोजनाहरूलाई थप ऊर्जा प्रदान गरेको छ । 

Advertisment

थप समाचार