काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र), पोखरा मा कार्यरत तत्कालीन प्रशासन अधिकृत (आठौं तह) शंकर थापा, कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङ गलकोट नगरपालिका–२ निवासी हिमबहादुर बस्नेत थापाबीच मिलेमतो भई गैरकानुनी रूपमा सवारी चालक अनुमतिपत्र तयार पारिएको पाइएको हो।
अनुसन्धानबाट हिमबहादुर बस्नेत थापाको नाममा ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स पहिले जारी नभएको जानकारी हुँदाहुँदै सरकारी अभिलेखमा हेरफेर गरी नयाँ विवरण प्रविष्ट गरिएको खुलेको छ।
अख्तियारका अनुसार उनीहरूको संलग्नतामा २०५८ चैत २७ गतेको इश्यू डेट र २०७८ चैत २२ गतेसम्म बहाल रहने गरी लाइसेन्स तयार पारिएको थियो। सोही आधारमा २०७८ चैत १५ गते लाइसेन्सको प्रतिलिपि समेत प्रदान गरिएको तथ्य फेला परेको आयोगले जनाएको छ।
आयोगले उक्त कार्यलाई सार्वजनिक अभिलेखमा झुट्टा विवरण प्रविष्ट गरी गैरकानुनी लाभ लिने उद्देश्यले गरिएको भ्रष्टाचारजन्य कसुर ठहर गर्दै प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजाय मागदाबी गरेको छ।
मुख्य आरोपित शंकर थापा र जगत ढकालमाथि ऐनको दफा ९ र ११ अनुसार कारबाहीको माग गरिएको छ भने हिमबहादुर बस्नेत थापालाई सोही कसुरमा मतियारको रूपमा दफा २२ अनुसार मुख्य कसुरदार सरह सजाय हुनुपर्ने माग गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले सार्वजनिक निकायका अभिलेखमा हेरफेर गरी गैरकानुनी लाभ लिनु गम्भीर अपराध भएकाले दोषीमाथि कडा कारबाहीको मागसहित अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए।
Advertisment