सुर्खेत : कर्णालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले कर्णाली बिकासका लागि प्रतिबद्धता जनाएका छन् । शनिबारदेखि शुरु भएको ‘कुडा कर्नालीका, कर्णाली उत्सव’को कर्णालीका ‘सुइना सत्रमा सहभागि वक्ताहरुले कर्णाली विकासका सवालमा दलभन्दा माथि उठेर कर्णालीका मुद्धाहरु उठाउने प्रतिबद्धता जनाएका छन् ।
उक्त सत्रमा रास्वपाका रमेश सापकोटा, नेपाली काँग्रेसका खड्कबहादुर बिसी, नेकपा एमालेका लक्ष्मीप्रसाद पोख्रेल, नेकपाका रमेश मल्ल र श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेल अथिति वक्ताको रुपमा सहभागी भएका थिए ।
कर्णालीको बिकास र समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष नभई यहाँको अबिकास, गरिबी र पछौटेपनलाई प्रतिपक्ष सम्झेर एकजुट भई प्रस्तुत हुने प्रतिबद्धता उनीहरुले जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश सापकोटाले समग्र कर्णालीको पहिचान बदल्ने र यहँँको सम्भावनाहरु स्थापित गर्ने गरी हामी प्रस्तुत् हुने बताए ।
‘कर्णालीको बिकासका लागि म दलगत स्वार्थभन्दा माथि उठेर प्रस्तुत हुनेछु’ उनले भने, ‘कर्णाली प्रदेशका अलपत्र परेका योजनालाई पूर्ण रूपमा कार्यान्वयन गराउने र कर्णालीका सपना पुरा गर्न सधै लागि पर्नेछु ।’
नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले कर्णालीको अपार सम्भावनालाई भुलेर यहाँको अबिकासलाई मात्र पहिचान गराईनु दुखद भएको बताए । ‘कर्णालीमा थुप्रै सम्भावनाहरु छन् । ती सम्भावनाहरुको खोजी गरी कर्णालीको महुार फेर्न सकिन्छ’ उनले भने, ‘कर्णालीको विद्युत उत्पादनको सम्भावनाको खोजी गरी कार्यान्वयन गर्न सके कर्णाली समृद्ध बनाउन सकिन्छ ।’ नलसिंगाड, जगदुल्ला, फुकोट, अपर कर्णालीजस्ता आयोजनाहरुले कर्णालीको आर्थिक बिकासमा टेवा पुर्याउने उनको भनाइ छ ।
‘यहाँको जडीबुटीको पहिचान, प्रशोधन र बजारीकरणले हामी आर्थिक उन्नती गर्न सक्छौ । यि सम्भावनाहरुको खोजीमा हामी जुट्नेछौ’ उनले भने ।
नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णालीको नेपाली सभ्यताको पहिचान भएको भन्दै यसको संस्थागत बिकासमा आफु लाग्ने प्रतिबद्धता जनाए ।
‘कैलाश, ज्वाला र सिँजा सभ्यतालाई एउटै डालोमा राखेर विश्लेषण गर्दा कर्णाली सभ्यता र त्यसबाट नेपाली सभ्यता देखिन्छ’ उनले भने, ‘कर्णाली अभाव, अशिक्षा र विकट होइन सम्भावनाले भरिएको प्रदेशको रुपमा चिनाउनुपर्छ ।’ दैलेखको पेट्रोलियम पदार्थको उत्खनन् गर्ने र बजारीकरणका लागि सरकारलाई घच्घच्याउने उनको प्रतिबद्धता छ ।
नेकपा नेकपाका सांसद रमेशकुमार मल्लले कर्णाली बदल्ने सपना बोकेर संसदमा छिरेको भन्दै कर्णालीको अवस्था परिवर्तनका लागि निरन्तर लाग्ने जनाए । ‘मुलुकको शासन व्यवस्था परिवर्तनका लागि कर्णालीले रगत बगाएको छ’ उनले भने, ‘अब व्यवस्था परिवर्तनका लागि हामी सबै एकै ठाउँमा उभिनुपर्नेछ ।’
श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले कर्णालीको बिकासका लागि नीति परिवर्तन गर्नुपर्नेमा जोड दिईन् । यहाँको शिक्षा, स्वास्थ्य, र पूर्वाधार बिकासलाई संगसंगै लैजानु पर्ने उनको भनाई छ । सामाजिक न्याय र रोजगारी सिर्जनाका लागि संसदमा आफुले आवाज उठाउने बताइन्।
Advertisment