Below Menu
Below Menu

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्वारा निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्वारा निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण

काठमाडौं : ६९औँ राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण गरेको छ।

काठमाडौँको न्यूरोड खिचापोखरीमा कार्यालय रहेको चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार “समयमै जाँच गरौँ, प्रोष्टेट क्यान्सरलाई जितौँ” भन्ने मूल नाराका साथ ४० वर्षमाथिका पुरुषहरूको निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण कार्यक्रम आयोजना गरेको हो।

काठमाडौंको गणबहालमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आयोजकको रुपमा रहेको थियो भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले प्राविधिक सहयोग गरेका थिए।

कार्यक्रममा काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग, का.म.पा.वडा नं. २२ कार्यालय, नेपाल व्यापार संघ तथा लायन्स क्लब अफ काठमाडौँ आस्था पुञ्ज लगायत संस्थाहरूको सहकार्य रहेको थियो।

कार्यक्रममा सेयर सदस्य तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। यसै सन्दर्भमा सहकारीले चैत १९ गते टेवहाल मन्रिदर परिसरमा बृहत् रक्तदान, २० गते शेयर सदस्यबीच अन्तरक्रिया तथा २१ गते भक्तपुरस्थित मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ। 

कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य कुल भक्त शाक्यले यस्ता सामाजिक कार्यको प्रशंसा गर्दै सहकारीको सक्रिय भूमिकाको सराहना गरेका थिए।

का.म.पा. स्वास्थ्य समितिका सभापति एवं का.म.पा. २२ नं. वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले स्थानीय जनताको स्वास्थ्य सचेतना अभिबृद्धि गर्न र स्थानीय जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने प्रोस्टेट क्यान्सर रोकथाममुलक यस प्रकारको कार्य स्थानीय तहसँग सहकार्य गरेर चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले महत्वपूर्ण र उदाहरणीय कार्य गरेकोमा संस्थालाई धन्यवाद ज्ञापन गरे । यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले समुदायमा सचेतना बढाउनुका साथै समयमै रोग पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विशेषगरी प्रोष्टेट क्यान्सरजस्ता गम्भीर रोगको निःशुल्क परीक्षणले धेरैलाई लाभ पुगेको उल्लेख गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यमा सबै निकायको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

सहकारीका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सहकारीले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको बताए। अध्यक्ष श्रेष्ठले समयमै स्वास्थ्य परीक्षणले जटिल रोगबाट बच्न सहयोग पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि समुदायकेन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यस्तै सञ्चालक समिति सदस्य दिपक सापकोटाले सदस्य तथा स्थानीयवासीको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताउँदै यस्ता पहलले जनचेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।

यस कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै विशेषगरी ४० वर्षमाथिका पुरुषहरूमा प्रोष्टेट क्यान्सरको समयमै पहिचान गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको छ।

चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड द्वारा आयोजित निःशुल्क परीक्षणले  स्वास्थ्य जाँचबाट वञ्चित नागरिकलाई प्रत्यक्ष लाभ दिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको प्राविधिक सहयोगले परीक्षणलाई विश्वसनीय बनाएको छ। 

साथै, यस्ता कार्यक्रमले रोगको प्रारम्भिक चरणमै उपचार सम्भव बनाउने, दीर्घकालीन जटिलता घटाउने र समुदायमा स्वास्थ्यप्रति सकारात्मक व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।
 

Advertisment

थप समाचार