Below Menu
Below Menu

यात्रु घटेपछि लुम्बिनी केबलकारको व्यापार घट्यो, आम्दानी १२.३० करोडमा खुम्चियो

यात्रु घटेपछि लुम्बिनी केबलकारको व्यापार घट्यो, आम्दानी १२.३० करोडमा खुम्चियो

काठमाडौं : लुम्बिनी केबलकारले आर्थिक वर्ष २०२५ मा १२ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा ७.५१ प्रतिशतले कम हो ।

कम्पनीले सन् २०२४ मा १३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२३ मा २ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीले चालु आवको छ महिनामा ५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । 

आईएमई ग्रुपको लगानीमा सञ्चालनमा आएको यो केबलकार सन् २०२३ मे २९ देखि व्यवसायिक सञ्चालनमा आएपनि अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन । पछिल्ला वर्षहरुमा यात्रु संख्या घट्दै जाँदा आम्दानीमा पनि कमी आएको छ । 

सन् २०२५ मा करिब २६ प्रतिशतले यात्रु घटेका थिए भने २०२६ को पहिलो छ महिनामा पनि झन्डै ११ प्रतिशत गिरावट आएको छ । यात्रु घटेसँगै कम्पनी नाफाबाट घाटातर्फ गएको रिपोर्टमा उल्लेख छ । 

यद्यपि सञ्चालन मार्जिन भने करिब ५० प्रतिशतमा स्थिर रहेको छ । तर, कम्पनीको कुल चुक्ता पुँजीको करिब १० प्रतिशत बराबर घाटा सञ्चित भइसकेको छ भने कम्पनीको ऋण सेवा गर्ने क्षमता पनि ०.८ गुणा मात्रै रहेको छ । 

यसैबीच, कम्पनीले केबलकारसँगै जोडिएको-पाँचतारे होटल अगाडि बढाउने तयारी गरिरहेको छ । तर यो परियोजना हाल डिजाइन चरणमै रहेकोले कार्यान्वयन जोखिम उच्च रहेको मूल्याङ्कनमा उल्लेख छ ।  

करिब २ अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस होटल परियोजनाका लागि ऋण व्यवस्थापन अझै टुंगो लागिसकेको छैन । तर, कम्पनीले अघिल्लो मूल्याङ्कनपछि करिब २६ प्रतिशत ऋण पूर्वभुक्तानी गरेको छ भने करिब ५७ करोड रुपैयाँको राइट शेयर निष्कासनमध्ये २५ करोड रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ । बाँकी रकम होटल परियोजनामा लगानी हुने अपेक्षा गरिएको छ ।  

आईएमई ग्रुपले यसअघि चन्द्रागिरी हिल्स र मौलाकालिका केबलकार जस्ता परियोजना सञ्चालनमा ल्याईसकेको छ ।

लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलस्थित गोलपार्क–बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म करिब ३ किलोमिटर दूरीमा फैलिएको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । 

यसले पाल्पाको बसन्तपुर क्षेत्रमा रहेको कामाख्यादेवी मन्दिर, भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुंगेधारा र पोखरीजस्ता धार्मिक तथा पर्यटकीय स्थलहरूलाई थप आकर्षक गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

मोनोकेबल डिट्याचेबल प्रणालीमा आधारित २५ वटा गोण्डोलासहित सञ्चालनमा रहेको यो केबलकारले दैनिक ६ हजार यात्रु बोक्ने क्षमता राख्छ । परियोजनाको टप स्टेशनमा पर्यटक लक्षित भेज र ननभेज रेस्टुरेन्ट सञ्चालनमा आइसकेका छन् भने होटल, बाल उद्यान, स्काइवाक र जिपलाइन जस्ता संरचना निर्माणको चरणमा छन् । 

कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकाल रहेका छन् । कम्पनीमा रमेश शर्मा र हेमराज ढकाललको पनि शेयर स्वामित्व रहेको छ । केबलकार र रिसोर्टसहितको समग्र आयोजनाको कुल लागत करिब ५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । जसमध्ये पहिलो चरणमा केबलकार निर्माणमै करिब डेढ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

कम्पनीले दीर्घकालिन बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब ४० लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । 
 

Advertisment

थप समाचार