Below Menu
Below Menu

उत्पादन सुरु भएको १८ महिनामै मारुती आयलले गर्‍यो ४ अर्ब ८६ करोडको व्यापार

उत्पादन सुरु भएको १८ महिनामै मारुती आयलले गर्‍यो ४ अर्ब ८६ करोडको व्यापार

काठमाडौं : मारुती आयल इन्डष्ट्रिजले व्यवसायिक सञ्चालनको छोटो अवधिमै उत्साहजनक व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा २ अर्ब ८९ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो छ महिनामै कम्पनीले करिब दुई अर्बको व्यापार गरिसकेको छ कम्पनीले यस अवधिमा एक अर्ब ९७ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । 

यसरी हेर्दा सन् २०२४ डिसेम्बर २७ बाट उत्पादन सुरु गरेको नेपालको निर्यातजन्य उद्योगमा उदाउँदो कम्पनीले डेढ वर्षमै कम्पनीले ४ अबर्् ८६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

व्यापारसँगै कम्पनीको नाफा मार्जिनमा पनि वृद्धि देखिएको छ । सन् २०२५ मा ७.७ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन चालु आवको छ महिनामा आइपुग्दा ८.२ प्रतिशत पुगेको छ । 

यसैगरी सन् २०२५ मा उद्योगको ब्याज तिर्न सक्ने क्षमता ५.४ गुणा रहेकोमा चालू वर्षको पुस मसान्तसम्म आइपुग्दा बढेर ८.९ गुणा पुगेको छ । यस्तै, कम्पनीको कुल ऋण र खुद पूँजीको अनुपात पनि ७ गुणाबाट उल्लेख्य रूपमा घटेर १ गुणामा झरेको छ ।

कम्पनीमा देवेनरा र बाबा ग्रुपको लगानी रहेको छ । मोरङको कटहरीमा रहेको यस उद्योगले विशेषगरी सोयाबिन तेल प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएको छ । साथै कारखाना भारत–नेपाल सीमासँग नजिक भएकाले ढुवानी तथा निर्यातमा लागत लाभ मिलेको पनि उल्लेख गरिएको छ ।

इक्रा नेपालले कम्पनीलाई पहिलोपटक कर्जा रेटिङ प्रदान गर्दै दीर्घकालीन कर्जा सीमामा बीबी माइनस र अल्पकालीन कर्जा सीमामा एफोर रेटिङ दिएको छ ।

 कम्पनीले दीर्घकालिन र अल्पकालिन कर्जाका लागि कुल २ अर्ब २४ करोड ४० लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि १५ करोड ४० लाख र अल्पकालिन कर्जाका लािग २ अर्ब ९ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको हो ।

कम्पनीको कुल बिक्रीमध्ये करिब ९९ देखि १०० प्रतिशत निर्यात भारतमै केन्द्रित रहेको छ । मुख्य उत्पादन सोयाबिन तेल मात्र रहेको छ । विशेषगरी दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत नेपालले पाउने शून्य भन्सार सुविधाका कारण कम्पनीले भारतमा तेल निर्यात गरिरहेको छ । 

भारत सरकारले सन् २०२५ जुनदेखि कच्चा खाद्य तेलमा आयात शुल्क घटाएपछि नेपालबाट हुने निर्यातको कर लाभ कम भएको छ । जसले निर्यातमुखी उद्योगहरूलाई दबाबमा राखेको छ ।  

कम्पनी कच्चा पदार्थका लागि पूर्ण रूपमा आयातमा निर्भर रहेको छ । दक्षिण अमेरिका र अष्ट्रेलियाबाट आयात गरिने कच्चा तेलमा मूल्य उतारचढाव, आपूर्ति अवरोध, विदेशी विनिमय दरको जोखिम तथा मौसमजन्य प्रभावले लागतमा घटबढ हुने उल्लेख छ । 
 
 

Advertisment

थप समाचार