Below Menu
Below Menu

देउती गुट्खाको व्यापार एक अर्ब ३४ करोड नाघ्यो, सुपारी महंगिँदा नाफा मार्जिन खुम्चियो

देउती गुट्खाको व्यापार एक अर्ब ३४ करोड नाघ्यो, सुपारी महंगिँदा नाफा मार्जिन खुम्चियो

काठमाडौं : देउती गुट्खा इन्डष्ट्रिज (डीजीआई) ले  एक वर्षमा सवा एक अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ३४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा ६.९२ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा एक अर्ब २५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । 

यसअघि कम्पनीले सन् २०२३ मा एक अर्ब १६ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा एक अर्ब १५ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा कम्पनीले ९० करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ । 

कम्पनीको बिक्री परिमाण बढ्नुका साथै प्रति मेट्रिक टन औसत बिक्री मूल्य ०.५७ मिलियन रुपैयाँबाट बढेर ०.५९ मिलियन रुपैयाँ पुगेका कारण व्यापार बढेको कम्पनीले जनाएको छ । 

तर, कम्पनीको व्यापार बढेपनि सञ्चालन नाफा मार्जिन भने घटेको छ । सन् २०२४ मा १४.४१ प्रतिशत रहेको यस्तो मार्जिन घटेर १२.०१ प्रतिशतमा झरेको छ । कम्पनीले प्रयोग गर्ने प्रमुख कच्चा पदार्थ सुपारीको मूल्य बढेका कारण नाफा मार्जिन खुम्चिएको कम्पनीले जनाएको छ । 

कम्पनीले सवा एक अर्बको व्यापार गर्दा ६ करोड  रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सन् २०२४ मा सात करोड ७० लाख रुपौयँ खुद नाफा कमाएको थियो । त्यस्तै सन् २०२४ मा ९ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको नगद प्रवाह घटेर ७ करोड ५० लाखमा पुगेको छ । 

सन् २०२५ मा कम्पनीको गियरिङ अनुपात २.६८ गुणा पुगेको छ, जुन अघिल्लो २.४५ गुणा रहेको थियो । ब्याज तिर्ने क्षमता पनि घटेर २.९५ गुणामा झरेको छ । 

कम्पनीका प्रवद्र्धक यज्ञ बहादुर ओली रहेका छन् । सन् २०१५ मा स्थापना भएको कम्पनीले ‘मेघा श्री’ र ‘मञ्जु श्री’ ब्रान्डमा गुट्खा तथा पान मसला उत्पादन गर्दै आएको छ । कम्पनीले देशभर २०० भन्दा बढी आधिकारिक डिलरमार्फत वितरण सञ्जाल विस्तार गरेको छ ।

बाँकेको जानकी गाउँपालिका–६, गनपुरमा रहेको कम्पनीको उद्योग सुक्खा बन्दरगाह नजिकै रहेकाले भारत हुँदै विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्न सहज भएको छ। कम्पनीले प्रयोग गर्ने कच्चा पदार्थमध्ये ७८ प्रतिशत सुपारी, ८ प्रतिशत सुर्ती, ६ प्रतिशत म्याग्नेसियम कार्बोनेट पाउडर, ३ प्रतिशत कठा र ५ प्रतिशत अन्य सामग्री (भिस्क ग्लिसिरिन लगायत) विदेशबाट आयात गरिन्छ ।

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि कुल ७२ करोड ८० लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ३१ करोड ९२ लाख र अल्पकालिन कर्जाका लागि ४० करोड ८७ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो । 


 

Advertisment