काठमाडौं : नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनचाँदी व्यवसायका समसामयिक समस्या समाधान तथा नीतिगत सुधारका लागि देशव्यापी रूपमा जनप्रतिनिधिमार्फत समन्वय, दबाब तथा अन्तरक्रिया कार्यक्रमको औपचारिक सुरुवात गरेको छ ।
उक्त कार्यक्रम महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य माननीय खगेन्द्र सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सुनचाँदी व्यवसायसँग सम्बन्धित विविध विषयमा गहन छलफल गरि प्रमुख अतिथि समक्ष महासंघले ज्ञापन पत्र प्रस्तुत गरेको थियो ।
कार्यक्रममा सुनचाँदीको मूल्य निरन्तर वृद्धि हुँदै गएको तथा सरकारले लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) का कारण व्यवसाय गम्भीर संकटमा परेको विषय प्रमुख रूपमा उठाइएको थियो ।
महासंघले उक्त करहरू तत्काल खारेज गर्न माग गर्दै विभिन्न चरणमा सरकार तथा सरोकारवालासँग भएको भेटघाट, छलफल तथा समस्या समाधानका लागि तयार गरिएको कार्यविधि र मस्यौदासमेत सरकारसमक्ष पेश गर्दा अपेक्षित सुनुवाइ नभएकोप्रति ध्यानाकर्षण गराएको थियो ।
यसै सन्दर्भमा, विगतमा आन्दोलनपश्चात् भएको बाह्रबुँदे सहमति कार्यान्वयन गराउन वर्तमान सरकारलाई दबाब दिन महासंघले देशव्यापी कार्यक्रम सञ्चालन गर्ने निर्णय सहित ७७ वटै जिल्लाका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी ध्यानाकर्षण गराउने, सुनचाँदी व्यवसायका समस्याबारे संघीय संसदमा आवाज उठाउन पहल गर्ने तथा जिल्ला संघमार्फत सबै सांसदहरूलाई ज्ञापनपत्र बुझाउने गरी योजना अघि बढाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिले वर्तमान अवस्थामा सुनचाँदी व्यवसाय अत्यन्त कठिन परिस्थितिमा पुगेको उल्लेख गर्दै व्यवसायीहरूलाई एकताबद्ध भई आफ्ना हकअधिकारका लागि अघि बढ्न आग्रह गरेका थिए। साथै, व्यवसायमा देखिएका कानुनी जटिलता समाधानका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने विश्वास व्यक्त गरेका थिए ।
यसैगरी, महासंघले अर्थ मन्त्रालय, अर्थमन्त्री तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय तथा शिष्टाचार भेटघाट गर्दै सहमति कार्यान्वयनका लागि पहल तथा दबाब दिँदै आएको छ ।
Advertisment