Below Menu
Below Menu

पाँच तारा साकोसको १८औं स्थापना दिवस: साताव्यापी कार्यक्रम र विविध सम्मान

पाँच तारा साकोसको १८औं स्थापना दिवस: साताव्यापी कार्यक्रम र विविध सम्मान

काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले १८औं स्थापना दिवस साताव्यापी कार्यक्रमसहित मनाएको छ।

स्थापना दिवस समापन समारोहमा संस्थाका अध्यक्ष भोला नाथ पाठकको सभापतित्वमा विभिन्न विधामा सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो। कार्यक्रममा नियमित रूपमा रक्तदान गर्ने सदस्यहरूलाई चाँदीको सिक्कासहित विशेष सम्मान प्रदान गरिएको थियो।

संस्थाले हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पाँच पटक र १० पटकसम्म रक्तदान गर्ने सदस्यहरूलाई विशेष सम्मान गरिएको हो।

संस्थाकी व्यवस्थापक राधा कडरियाका अनुसार रगत अभावलाई कम गर्न तथा मानवीय कार्यमा सदस्यहरूको सहभागिता बढाउन यस्तो कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको छ। संस्थाले आर्थिक गतिविधिसँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ।

स्थापना दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा विजेता टोलीलाई मेडल र ट्रफी प्रदान गरिएको थियो। साथै ७५ वर्षमाथिका ज्येष्ठ सदस्यलाई विशेष उपहारसहित सम्मान गरिएको छ।

अध्यक्ष पाठकले २०६४ सालमा स्थापना भएको संस्थाले ३२ जना सदस्य र सानो पुँजीबाट यात्रा सुरु गरेको स्मरण गरे। दर्ता भएको १० दिनपछि वैशाख १ गतेबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरिएको उनले बताए।

उनले सुरुका दिनमा सहकारीप्रतिको विश्वास कम रहेको र संस्था दर्ताका लागि लालपुर्जा जुटाउनसमेत कठिन भएको अनुभव सुनाए। सुरुमा ५० जनाले सहयोग गर्ने भने पनि अन्ततः ३२ जनाको सहयोगमा सानो कोठाबाट संस्था सञ्चालन गरिएको थियो।

काठमाडौंको ३२ टाउन प्लानिङ क्षेत्रमा त्यसबेला बैंक तथा वित्तीय संस्थाको पहुँच नभएकाले आवश्यकताका आधारमा सहकारी स्थापना गरिएको अध्यक्ष पाठकको भनाइ छ।

उनका अनुसार ३२ हजार रुपैयाँ बचतबाट सुरु भएको संस्था अहिले १ अर्ब रुपैयाँभन्दा बढी वासलतमा पुगेको छ। सहकारीमार्फत न्यून आय भएका तथा बैंकबाट ऋण लिन कठिनाइ भएका व्यक्तिलाई सहुलियतमा सेवा दिँदै उद्यमशीलता विकासमा सहयोग गरिएको उनले बताए।

अध्यक्ष पाठकले सहकारी क्षेत्रप्रतिको विश्वास जोगाउन सदस्यहरूले समयमै ऋणको साँवा–ब्याज भुक्तानी गर्नु आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार ऋणीले समयमै ऋण तिर्न सके अधिकांश समस्या समाधान हुने गर्दछ।

संस्थाले सुरुवातदेखि नै मितव्यायिता अपनाएको र हाल आफ्नै भवन तथा बलियो संस्थागत पूँजी निर्माण गर्न सफल भएको उनले बताए। साथै संस्थाले हरेक दुई वर्षमा सहकारी अभियन्तालाई सम्मान गर्दै पुरस्कार राशि ५१ हजार १११ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको जानकारी दिए।

कार्यक्रम संस्थाका सञ्चालक सुशील प्रसाईंको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा ज्येष्ठ सदस्य डम्बरबहादुर तुम्बाहाङफे, छत्रभूषण दाहाल तथा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष अर्जुन खतिवडाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Advertisment

थप समाचार