Below Menu
Below Menu

आम्दानी साढे २३ करोड पुग्दा पनि ‘लेमन ट्री प्रिमियर’ किन घाटामा ?

आम्दानी साढे २३ करोड पुग्दा पनि ‘लेमन ट्री प्रिमियर’ किन घाटामा ?

काठमाडौं : बुढानिलकण्ठ क्षेत्रमा सञ्चालनमा रहेको पाँचतारे होटल लेमन ट्री प्रिमियरले सन् २०२५ मा २३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले  अघिल्लो वर्ष सन् २०२४ मा ४ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । 

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले सन् २०२४ को मार्च महिनादेखि आंशिक रूपमा होटल सञ्चालन सुरु गरेको थियो भने सोही वर्षको सेप्टेम्बरसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो। पूर्ण सञ्चालनपछि होटलको आम्दानीमा वृद्धि देखिएको हो । 

तर, आम्दानी बढेपनि उच्च खर्चका कारण कम्पनी अझै नाफामा जान सकेको छैन । होटल निर्माणमा करिब २ अर्ब ६० करोड रुपैयाँ लगानी भएको छ । सुरुवाती लागत अनुमान दुई अर्ब ४० करोड रहेको थियो । कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण होटल निर्माण लागत बढेको कम्पनीले जनाएको छ। 

कम्पनीको लगानी वृद्धिसँगै ऋण भार पनि उच्च रहेको छ । सन् २०२५ मा मात्र कम्पनीले करिब १३ करोड ७० लाख रुपैयाँ ब्याज खर्च व्यहोरेको छ । जसका कम्पनीको कुल घाटा २० करोड रुपैयाँभन्दा बढी पुगेको छ।

यद्यपि आम्दानीमा सुधार आएको भए पनि नगद प्रवाह अझै नकारात्मक अवस्थामा रहेको छ। एबिटा मार्जिन नकारात्मक नै रहेको छ ।  रेटिङ एजेन्सीले कम्पनीको ८७ करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंकिङ सुविधाका लागि ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ । 

यसैबीच, प्रवर्द्धकहरूले सन् २०२६ को सुरुवातमा करिब ६६ करोड रुपैयाँ बराबरको थप इक्विटी लगानी गरेका छन्, जसले कम्पनीको ऋण भार आंशिक रूपमा घटाउन मद्दत गरेको छ। कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२४ को १.९७ गुणाबाट घटेर सन् २०२५ मा १.२५ गुणामा झरेको छ।

होटल करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको छ र यहाँ १०२ कोठा रहेका छन् । जसमा ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट, ४ वटा बिजनेस सुइट र २ वटा प्रेसिडेन्टल सुइट समावेश छन्। कुल १९० बेड क्षमता रहेको यस होटलले उच्चस्तरीय सुविधा प्रदान गर्दै आएको छ। 

होटलमा अल–डे डाइनिङ रेस्टुरेन्ट, स्पेसियालिटी रेस्टुरेन्ट, रुफटप रेस्टुरेन्ट तथा बार, हेल्थ क्लब, स्वीमिङ पुल, स्पा, योग तथा ध्यान केन्द्र लगायतका सेवा उपलब्ध छन्। साथै, १७७ र ३१४ वर्गमिटरका दुईवटा बैंक्वेट हल तथा तीनवटा मिटिङ रुम रहेका छन् । 

निकट भविष्यमा सञ्चालनमा ल्याउने लक्ष्यसहित करिब १८ हजार वर्ग फिट क्षेत्रफलमा क्यासिनो हल पनि निर्माणाधीन अवस्थामा रहेको छ । लेमन ट्री एक प्रतिष्ठित भारतीय होटल ब्रान्ड हो । विश्वका ८० भन्दा बढी देशमा १५० भन्दा बढी होटल सञ्चालनमा रहेका छन्। 

पूँजी वृद्धिका लागि कम्पनीले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४९ करोड ५० लाख रुपैयाँ बराबरका ४९ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो ।

यससँगै कम्पनीले हालका शेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद शेयर पन िजारी गर्ने जनाएको छ । आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ।

वि.सं २०७५ सालमा निजी कम्पनीका रूपमा स्थापना भई वि.सं २०७८ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओपछि चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ। कम्पनीका अध्यक्ष अम्बिका पौडेल रहेका छन् । उनी शेयर लगानीकर्ता पनि हुन् ।

Advertisment