इलाम : पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यसवर्ष चियाको पहिलो टिपाई अर्थात् ‘फस्ट फ्लस’ धमाधम भइरहेको छ ।
फागुन र चैत महिनाको पहिलो सातामै वर्षा भएकाले मौसम अनुकूल बनेको छ, जसले चिया किसानहरूलाई उत्पादनमा सहयोग पुर्याएको छ । समयमै परेको पानीका कारण चियाका बोटहरूमा नयाँ मुना राम्रोसँग पलाएका छन्, जसले गुणस्तरीय चिया उत्पादनको सम्भावना बढाएको छ ।
फस्ट फ्लस सिजनमा उत्पादन हुने चिया गुणस्तरका हिसाबले सबैभन्दा उत्कृष्ट मानिन्छ । कोमल पात र विशिष्ट सुगन्धका कारण यस प्रकारको चिया अन्तर्राष्ट्रिय बजारमा उच्च मागमा रहने गर्दछ ।
उत्पादनको मात्रा कम भए पनि यसको मूल्य अन्य सिजनको तुलनामा बढी हुने भएकाले किसान र उद्योगीहरूका लागि यो समय विशेष महत्वपूर्ण मानिन्छ ।
चिया टिपाई सुरु भएसँगै जिल्लाका केही चिया कारखानाले हरियो पत्ती प्रशोधन गर्न थालेका छन् । इलाम अर्थोडक्स चिया उत्पादनका लागि देशकै अग्रणी जिल्ला मानिन्छ । यहाँ वार्षिक रूपमा करिब ६० लाख किलो तयारी चिया उत्पादन हुने तथ्यांक रहेको छ ।
जिल्लामा हाल ठूला र साना गरि १०० बढि चिया कारखाना सञ्चालनमा छन् । साथै, करिब १२ हजार किसान चिया खेतीमा संलग्न छन्, जसले उत्पादन गरेको हरियो पत्ती कारखानामा बिक्री गर्दै आएको केन्द्रिय चिया सहकारी संघका महासचिव रबिन राईले जानकारी दिए ।
इलाममा विभिन्न प्रकारका चिया उत्पादन हुने गरेका छन्, जसमा गोल्डन, गोल्डन फ्लस, सिल्भर, गोल्डन ब्ल्याक, ग्रिन लगायतका चिया प्रमुख छन् ।
चियाले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहिचान बनाएका छन् । विशेष गरी फस्ट फ्लस चियाले विदेशी बजारमा उच्च मूल्य पाउने भएकाले यसको निर्यात सम्भावना उच्च रहेको छ ।
Advertisment