काठमाडौं : सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख ३ गतेदेखि निष्कासन गरेको आईपीओमा आज साँझसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता बाँडफाँट भइसकेको छ भने बाँकीमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई ’केयरएनपी बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । त्यसैले लगानीकर्तालाई रेटिङ्गको विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिइएको छ ।
लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ’मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यसको विक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ ।
Advertisment