Below Menu
Below Menu

शेखर गोल्छा पक्राउप्रति नाइमाको आपत्तिः पक्राउ अघि सफाइको मौका दिइयोस् 

शेखर गोल्छा पक्राउप्रति नाइमाको आपत्तिः पक्राउ अघि सफाइको मौका दिइयोस् 

काठमाडौं : वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग सम्बन्धित पछिल्लो घटनाक्रमप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

नाइमाले एक विज्ञप्ति जारी गर्दै यस्ता विषयमा अघि बढ्दा प्रक्रियागत स्पष्टता, सन्तुलन र उचित विवेक अपनाइनु अत्यावश्यक रहेको उल्लेख गरिएको छ।

नाइमाले कुनै पनि संवेदनशील विषयमा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण दिने पर्याप्त अवसर उपलब्ध गराइनु पर्ने धारणा राखेको छ। यसले मात्र न्यायिक तथा नियामकीय प्रक्रियाप्रतिको विश्वास मजबुत बनाउने र समग्र प्रणालीलाई विश्वसनीय बनाइराख्ने संस्थाको विश्वास छ।

नाईमाले निजी क्षेत्र मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा आर्थिक गतिविधिको प्रमुख आधार भएको स्मरण गराउँदै यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्ने वातावरण निर्माण गर्न राज्यको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेको छ। नीतिगत सन्देश र व्यवहारमार्फत उद्यमशीलतालाई प्रोत्साहन गर्ने दिशामा सरकारको कदम आवश्यक रहेको नाइमाको भनाइ छ।

नाइमाले आफू विधिको शासन, पारदर्शिता र निष्पक्षताको पक्षमा दृढ रहेको स्पष्ट गर्दै तथ्यका आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्ने र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनुपर्नेमा आफ्नो समर्थन रहेको जनाएको छ। 

तर पर्याप्त प्रमाणबिना निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा नकारात्मक असर पार्न सक्ने भन्दै सम्बन्धित निकायलाई संवेदनशीलता अपनाउन आग्रह गरेको छ।

Advertisment