Below Menu
Below Menu

आरएमसी फुड्सले गर्यो छ महिनामै १२ अर्ब ३९ करोडको व्यापार, निर्यातको हिस्सा ६२ प्रतिशत

आरएमसी फुड्सले गर्यो छ महिनामै १२ अर्ब ३९ करोडको व्यापार, निर्यातको हिस्सा ६२ प्रतिशत

काठमाडौं : आरएमसी फुड्स प्रालिले चालु आर्थिक वर्षको छ महिनामै १२ अर्ब ३९ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

खाद्य प्रशोधन तथा खाद्य तेल उत्पादनमा सक्रिय कम्पनीको व्यापार गत आवको सोही अवधिको तुलनामा २६२ प्रतिशत अर्थात ६ अर्ब १० करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६ अर्ब २८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

सन् २०२५ मा पनि कम्पनीको व्यापार २७२ प्रतिशत अर्थात १२ अर्ब ९३ करोड ८० लाख रुपैयाँले त्रढेको छ । सन् २०२४ मा ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीले सन् २०२५ मा १७ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

यसअघि सन् २०२३ मा कम्पनीले ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । विशेषगरी भारततर्फको निर्यात बढेसँगै कम्पनीको व्यापारमा उल्लेखनीय सुधार आएको रिपोर्टमा उल्लेख छ । 

कम्पनीका अनुसार चालु आवको छ महिनामा भएको कुल आम्दानीमध्ये करिब ६२ प्रतिशत हिस्सा निर्यातबाट आएको छ । भारतले रिफाइन्ड तेलमा आयात शुल्क बढाएपछि नेपालबाट हुने निर्यात तुलनात्मक रूपमा प्रतिस्पर्धी बनेको र त्यसबाट आरएमसी फुड्सले प्रत्यक्ष लाभ उठाएको कम्पनीको दाबी छ ।

सन् २०२५ मा कम्पनीको निर्यात बिक्री बढेर १० अर्ब ४१ करोड रुपैयाँ पुगेको जनाएको छ ।जबकी अघिल्लो वर्ष कम्पनीको निर्यात बिक्री १६ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामै निर्यातको हिस्सा ६२ प्रतिशत पुगिसकेको छ । 

कम्पनीको व्यापार बढेसँगै सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । अघिल्ला दुई वर्षमा नकारात्मक रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा ११.०७ प्रतिशत रहेको थियो । चालु आवको छ महिनामा यस्तो मार्जिन ७.१८ प्रतिशत कायम रहेको छ भने खुद नाफा मार्जिन ४.७८ प्रतिशत रहेको छ । 

सन् २०२५ मा कम्पनीको ब्याज, कर, मूल्यह्रास तथा परिशोधनअघिको आम्दानी (एबिटा) एक अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जबकी सन् २०२४ मा  कम्पनी १८ लाख रुपैयाँ घाटामा थियो । खुद नाफा मार्जिन ६.८६ प्रतिशत पुगेको छ ।

साथै, ग्रस क्यास एक्रुअल एक अर्ब ४५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०२५ मा ६ करोड २० लाख र चालु आवकोे ६ महिनामै ९ करोड २० लाख रुपैयाँ वैदेशिक मुद्रा विनिमय नोक्सानी व्यहोरेको छ ।

सन् २०२१ अगस्टमा स्थापना भएको आरएमसी फुड्सको उत्पादन प्लान्ट बाराको जीतपुरमा रहेको छ । वार्षिक ९० हजार मेट्रिक टन रिफाइन्ड तेल उत्पादन क्षमता रहेको कम्पनीले ‘न्यूट्रिप्लस’ ब्रान्डमार्फत खाद्य तेल बिक्री गर्दै आएको छ । 

कम्पनीले ‘न्युट्रिप्लस’ ब्रान्डअन्तर्गत रिफाइन्ड तेल, राइस ब्रान आयल, वनस्पति घ्यू, फ्याट स्प्रेड्स, बेकरी सर्टनिङ, मार्जरीन, एसिड आयल, चामल, दाल तथा अन्य खाद्य सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ ।

कम्पनीको नेतृत्व आरएमसी ग्रुपका प्रमुख उद्योगी राजेश कुमार अग्रवाल र विष्णु कुमार अग्रवालले गरिरहेका छन् । कम्पनीमा दुवै जनाको ४५÷४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ११ अर्ब ६४ करोड ३० लाख रुपैयाँ ऋण रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि एक अर्ब २५ करोड ४४ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि १० अर्ब ३८ करोड ८५ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको हो । 
 

Advertisment